गलत विवरण दिने र भर्ने दुवैलाई कारबाही : मन्त्री तुम्बाहाङ्फे

  • सुमन सुस्केरा

विराटनगर । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले सुकुम्वासी समस्या समाधानमा सरकार गम्भीर रहेको बताएकी छन् । उनले सुकुम्वासीलाई जग्गाधनी पुर्जा दिलाएरै छाडने प्रतिबद्धता जनाइन् ।

सुनसरीको इटहरी ९ मा जारी लगत सङ्कलन कार्यको निरीक्षणका क्रममा मन्त्री तुम्बाहाङ्फेले सुकुम्वासीलाई जग्गा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिएकी हुन् । उनी थप्छिन्, ‘सरकार ढल्छ कि ? पुर्जा नपाइएला कि ? भन्ने आशङ्का नगरी ढुक्क भएर बस्नुहोला । अहिलेको भूमिसम्बन्धी समस्या समाधान आयोग संविधानमा भएको व्यवस्थालाई टेकेर ऐनबमोजिम गठन भएकाले यही आयोगले भूमिसम्बन्धी समस्या समाधान गर्नेछ ।’

छिटो र व्यवस्थित ढङ्गले लगत सङ्कलन गर्न उनले निर्देशन दिइन् । गलत विवरण दिने र भर्ने दुवैलाई कारबाही हुने भएकोले यस तर्फ सजग रहन सचेत गराउँदै उनी भन्छिन्, ‘सुकुम्वासीलाई जग्गा दिने भन्दै रकम असुली गर्ने गरेको पाइएको छ । कसैले गलत नियत राखेर रकम असुली गरेको पाइए कारबाही हुन्छ ।’

सुकुम्वासी समस्या समाधानको लागि स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने भएकोले स्थानीय तहले जति व्यवस्थित ढङ्गले काम गर्छन् त्यति नै चाँडो परिणाम आउने उनको तर्क छ । सबै भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित वसोवासीको लगत सङ्कलनलाई तीव्रता दिई स्थानीय तहले छिटो भन्दा छिटो काम सक्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया