राजनीतिक पद्धति बनेन, व्यक्तिगत प्रवृत्तिले राज्य सञ्चालन हुँदा लोकतन्त्र बलियो भएन

  • शम्भु थापा

मान्छेमा लोकतन्त्र दिवस भन्दा मनैबाट प्रकट हुने हर्ष र आउनुपर्ने उत्साह हराउँदै गएको छ । क्रियाशीलता कम मात्र हुँदै गएको छ । नेपालको इतिहासमा प्रजातन्त्रदेखि, गणतन्त्रदेखि लिएर अन्य धेरै दिवसहरु मनाउँदा त्यति ठूलो उपस्थिति देखिँदैन ।

हिजो राजनीतिक दलहरुले पनि जुनखाले बेइमानी गरेका थिए । तिनीहरुले पनि जनतासामु शपथ लिएका थिए । प्रतिवद्धता गरेका थिए । त्यो अवस्थालाई हेर्दाखेरि चाहिँ राजनीतिक, आर्थिक, नैतिक, कानूनी सम्पूर्ण दृष्टिकोणले समस्याहरु समाधान हुनेगरी शक्तिले काम गर्छ, राज्य संयन्त्रले काम गर्छन्, संवैधानिक निकायहरु आ–आफ्नै ठाउँमा हिँड्छन् भन्ने लागेको थियो । तर, पछि त्यो बिल्कुलै भएन । पछि उतार–चढावहरु आए । संविधान आयो, संविधान आउनु आफैंमा राम्रै थियो । तर, त्यसपछि सबैजसो क्षेत्रमा धेरै नै कमी कमजोरीहरु रहे । जसले गर्दा नागरिकको आशा निराशामा बदलिँदै गयो ।

मान्छेहरु राष्ट्रपतीय प्रणाली नराम्रो मान्छन् । त्यो होइन । प्रणाली र व्यवस्था त आफ्नै ठाउँमा छन् । सबैभन्दा ठूलो कुरा त्यो व्यवस्थालाई चलाउने मान्छे कस्तो छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हो ।

खासमा समस्या प्रणालीले दिने होइन, समस्या मान्छेले नै दिने हो । सत्ता र शक्तिको सन्दर्भमा भन्ने हो भने धेरै कुराहरु छन् । यसपालि त झनै संसद् विघटन भयो । त्यसलाई संवैधानिक कू नै थियो । यस्तो किन भयो ? कनि गरियो ? भन्ने कुरा चाहिँ शासकले जनतालाई भन्नुपर्छ । त्यो चाहिँ लोकतन्त्र हो ।

वास्तवमा भन्ने हो लोकतन्त्र हिजो जनयुद्धमा होमिएकाहरुका लागि आएको छैन । उत्पीडितका लागि आएको छैन । यस्तो अवस्थामा लाग्छ कि यो कुनै प्रणालीअन्तर्गत चलेको छैन । यहाँ मान्छेले आफैंलाई बनाउन मात्रै सबै गरिरहेका छन् जस्तो लाग्छ । तर, लोकतन्त्र यस्तो हुँदैन । यहाँ सबैखाले मानिसहरु छन्, सबैका लागि लोकतन्त्र आउनुपर्छ ।

तर, लोकतन्त्रको आमअनुभूति नहुनुमा खाली नेतालाई मात्रै दोष दिएर पनि हुँदैन । हामी जनता पनि उस्तै भयौँ, नागरिक समाज पनि उस्तै भयो । सबै–सबै नै उस्तै भयौँ । यो मानेमा लोकतन्त्रप्रतिको विश्वास घट्नुमा मैले चाहिँ जिम्मा लिन्न भनेर कसैले धरै पाउँदैन । किनकी, लोकतन्त्र आफैंमा राम्रो थियो । तर, त्यो सञ्चानल गर्नुमा त्रुटिहरु भए । जुन सबैको कारण आएको हो भनेर सहर्ष देखिन्छ । हामी सबै नै त्यस्तै नै भयौँ । नेता पनि उस्तै भए, हामी आफ्नो मत दिएर नेता चुन्ने पनि उस्तै भयौँ । हामी भोट हाल्दाखेरि आँखा बन्द गरेर हाल्ने भयौँ । आज जतिसुकै कुरा गरेपनि भोलि चुनावको बेलामा आँखा बन्द गर्ने नै हौँ हामी जनताले पनि । जसको पक्षमा मैले बढी वकालत गर्छु उसैलाई हाल्छु । हाम् िराम्रो मान्छेलाई छान्दैनौँ । यसैको परिणामस्वरुप लोकतन्त्र यस्तो भयो । हामीले चुनावबाट राम्रो मान्छेलाई चुन्न नसक्नुको दोष हामीले पनि लिनुपर्छ ।

नेपालमा अझै नागरिकले सुदृढ लोकतन्त्र पाउने सम्भावना देखिँदैन । अहिलेकै परिदृष्यलाई हेर्दा त्यो असम्भवजस्तै लाग्छ । अहिलेका राजनीतिक दलले त्यो हाँक्नै सक्दैनन् । फेरि अहिले संवैधानिक अंगमा बसिरहेका मानिसहरुबाट पनि सुदृढ लोकतन्त्रको आशा गर्न सकिन्न । हिजो जुन किसिमबाट नियुक्ति भएका छन्, गरेका छन् यी मानिसहरुका मनसुवाबाट देखिँदैन, पटक्कै देखिँदैन । यस्तो देख्दा लाग्छ कि– कुनै पनि कुरा खाली छैन, बन्द छ । यहाँ त शासकले आफूलाई जुन मान्छे मन परायो, त्यो नै सर्वश्रेष्ठ हो भन्ने ठान्छन् । अनि भन्नुस् त– कसरी आउँछ सुदृढ लोकतन्त्र ? अरु कुरा त छोडिदिनुस्, यहाँ कुनै पनि कुराको व्यापक छलफल हुँदैन । यानेकी, छलफल नै हो लोकतन्त्रको प्राप्तिको संवाहक ।

राजनीतिक संरचनाले जन्माएको संवैधानिक अंगमा रहेका व्यक्तिहरुमाझ छलफल हुनुपर्छ । कुनै विषयमा नै छलफल छैन अनि कसरी आउँछ सुदृढ लोकतन्त्र ?

यति कुरा– जस्तोसुकै, जुनसुकै व्यवस्था ल्याएपनि त्यसलाई सञ्चालन गर्ने प्रवृत्तिमा भर पर्ने हो । कुनै पनि व्यवस्था आफैंमा उन्नत हुँदैन । राष्ट्रपति भन्नुस् त्यो पनि होइन, राजा भन्नुस् त्यो पनि होइन । खाली यहाँ त व्यक्तिगत प्रवृत्तिको कुरा भइरहेको छ । राजनीतिक पद्धती बस्नै सकेन यहाँ । राजनीतिक प्रवृत्ति भएन । राजनीतिक प्रवृत्ति के हो भन्ने कुरा त दल हाँक्ने, देश हाँक्ने नेताहरुले भन्नुपर्यो नि । एउटा देश किन सफल हुन्छ ? अनि अर्को देश किन असफल हुन्छ ? यो भनेको त राजनीतिक र व्यक्तिगत प्रवृत्तिका कारणले हो नि त । उदाहरणका लागि यहाँ त्रिविले दिएको पनि डाक्टर नै हो, सिंगापुरले दिएको पनि डाक्टर नै हो । अब सिंगापुरको कुरा गर्नुहुन्छ भने त्यहाँ कति क्लास लिनुपर्दो रहेछ, कति चाहिँ थेसिस लेख्नुपर्दोरहेछ अनि कति चाहिँ प्रयोगहरु गर्नुपर्नेरहेछ । कति कामहरुलगालग प्रयोगहरुमा जुट्नुपर्नेरहेछ । तर, यहाँका डाक्टर हेर्नुस् त क्लाससम्म पनि लगालग गर्दैनन् । मैले भन्न खोजेको कतिमात्रै हो भने प्रणाली चाहिँ कुन हो त ? विश्वविद्यालय त उही हो । गुण त त्यही नै हो । सबै विश्वविद्यालयले दिने भनेको आखिर डाक्टर उपाधि त उही नै हो । अनि फेरि त्यसमा ज्ञान दिने कस्तो मान्छे राख्नुभएको छ, त्यसमा पनि भर पर्छ । तपाईंलाई प्राज्ञिक डाक्टर चाहिने कि नामको मात्रै डाक्टर चाहिने ? नेपालमा भइरहेको यही नै हो ।

तपाईंले जे लेख्नुस्, जे भन्नुस्– अहिले देश हाँकेर हिँड्ने भनेको प्रधानमन्त्री होइनन् र ? अनि अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालत होइन र ? बिहान सभामुख जानुभएन, बेलुका अर्को अध्यादेश ल्याउनुभयो । ४८ घण्टाको समयावधि हुनुपर्छ भन्ने प्रधानमन्त्री र प्रधानन्यायाधीशलाई थाहा हुँदैन र ? ४८ घण्टा त पुग्नुपर्छ है सूचना दिएको भन्नेबारे प्रधानमन्त्री र प्रधानन्यायाधीशलाई थाहा भइहाल्छ नि । तर, त्यो पालना भएन । लोकतन्त्र यहीँनेर पनि खुस्क्यो । विधी लोकतान्त्रिक भएन ब्यवहारमा लोकतन्त्र भएन ।

त्यसो त राजा पनि एउटा प्रणाली हो नि त । मैले भन्ने गरेको छु– म आफैं रद्दी छु । किनकी, जनताले नै नेता बनाउने हो । अन्तिममा लोकतन्त्रको अनुभूत जनताले गरेका छैनन् । जनताले छिट्टै सुदृढ लोकतन्त्रको आमअनुभूति गरुन् । शुभकामना ।

(दोश्रो जनआन्दोलनका अगुवामध्येका एक बरिष्ठ अधिवक्ता शम्भु थापासँग मकालुकर्मी धनबल राईले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया