थन्किए लुम्बिनीमा चल्ने विद्युतीय सवारी

रुपन्देही । लुम्बिनीमा पर्यटन विकास र प्रदुषण कम गर्न भन्दै भित्र्याइएका वातावरणमैत्री सवारी साधन यत्तिकै थन्किएका छन् ।

देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी ‘बुद्ध सर्किट’ मा सञ्चालनका लागि गत मंसिर २ गते विद्युतीय बस र पुस १४ गते भ्यान लुम्बिनी आइपुगेका थिए । विद्युतीय सवारी साधन सञ्चालनसम्बन्धी अवधारणा नबन्दा यी सवारी साधन सञ्चालन गर्नेबारे अन्यौल भएको हो ।

पर्यटक र तीर्थालुलाई लुम्बिनीसम्म बोक्न ल्याइएका विद्युतीय बस र भ्यान संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छैन । ठूला उद्योगहरुले प्रदुषित हुँदै गएको लुम्बिनी क्षेत्रमा सवारी साधनबाट हुने प्रदुषण कम गर्नका लागि वातावरणमैत्री गाडी भित्र्याइएको हो । तर लामो समयसम्म पनि सञ्चालन नहुँदा विद्युतीय सवारीलाई प्राथमिकता दिने सरकारको नीतिमै प्रश्न चिह्न उठेको छ ।

लुम्बिनी विकास कोषले भने गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुँदासम्म विद्युत सवारी पनि सञ्चालन हुने दाबी गर्दै आएको छ । दुई वर्षअगाडि लुम्बिनीका लागि भनेर ल्याइएका विद्युतीय बस काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे पनि सञ्चालन हुन सकेनन् ।

लुम्बिनीमा आएका सवारीसाधनको हालत पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता पर्यटन व्यवसायीले व्यक्त गर्न थालेको छन् ।

लुम्बिनी होटल संघका अध्यक्ष मिथुन श्रेष्ठले करोडौ रकमका बस र भ्यान ल्याएर संचालन नगरी थन्काएर राख्नु ठीक नभएको बताउँछन् । श्रेष्ठका अनुसार लुम्बिनीमा सुविधासम्पन्न सवारी साधन नहुदा पर्यटकीय क्षेत्रमा असर परिरहेको बेला खरिद गरि ल्याएका सवारी साधन पनि संचालनमा ल्याउन नसक्नु लुम्बिनी विकास कोषको गम्भीर लापरवाही हो ।

लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईका अनुसार कोषले विद्युतीय सवारी साधन संचालन गर्न प्रयास गरिरहेको छ । राईले छिट्टै नै संचालनमा आउने जानकारी दिएका छन् ।

लामो समय गाडी थन्किँदा गाडीका पार्टपूर्जा र इञ्जिन बिग्रिने सम्भावना बढ्दै जान्छ । एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत ‘टुरिस्ट भेइकल’ भित्रिएका हुन् । विकास कोष आफैँ गाडी सञ्चालन नगरी टेन्डर प्रक्रियामार्फत् सञ्चालन गर्न दिने योजनामा छ । आफैं यातायात सञ्चालन गर्दा थप जनशक्ति आवश्यक पर्ने देखेपछि विकास कोषले टेन्डर प्रक्रियामार्फत् सञ्चालन गर्ने सोच बनाएको छ । ती, गाडी चीनबाट आयात गरिएका हुन् ।

पाँचवटा गाडीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया ९सुनौली० नाकासम्म आइपुगेका तीर्थयात्रीलाई लुम्बिनीसम्म पुर्‍याउनेछन् भने १४ वटा भ्यानले लुम्बिनीभित्र रहेका विभिन्न गुम्बामा पर्यटक घुमाउन प्रयोग गरिनेछ ।

अत्यधुनिक गाडी १९ सिट क्षमताका हुन् भने भ्यान पाँच सिटे छन् । अहिले लुम्बिनीभित्र ई–रिक्सा प्रयोग गरेर पर्यटक विभिन्न गुम्बामा पुग्ने गर्छन् । गाडीले विमानस्थल वृहत्तर लुम्बिनीअन्तर्गत कपिलवस्तुको तिलौराकोट, पश्चिम नवलपरासीको रामग्राम, बुद्धमावली रूपन्देहीको देवदह क्षेत्रमा पनि तीर्थयात्रीहरू पुर्‍याउने गरी गाडी सञ्चालन गर्ने योजना छ ।

वातानुकूलित बस अपांगमैत्री हुन् भने आवाजरहित भएको समेत बताइएको छ । एकपटक फूल चार्ज गरे चारसय किलोमिटरसम्म गुड्न सक्ने गाडीको चार्ज सोलारबाट हुनेछ । त्यसका लागि बस र भ्यान चार्ज गर्ने सेन्टर बनाउने काम पूरा भएको छ ।

एकै पटकमा २५ वटा गाडी चार्ज गर्ने व्यवस्थासमेत मिलाइएको छ । हाल भैरहवाबाट लुम्बिनीसम्मको बाटो चार लेन निर्माण सम्पन्न भइसकेको छ भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएपछि यस क्षेत्रमा पर्यटकको संख्या धेरै बढ्ने अपेक्षा गरिएको छ । यसले यस क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुर्‍याउने संघीय सरकारको लक्ष्य छ ।

प्रतिक्रिया