भारतमा एकैदिन तीन लाख बढीमा कोरोना

नयाँ दिल्ली । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को संक्रमितको संख्या तीन लाख १४ हजार ८३५ जना थपिएपछि कुल संक्रमितको संख्या एक करोड ५९ लाख ३० हजारभन्दा बढी भएको छ ।

सोही अवधिमा भारतमा कोरोनाबाट २ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ८४ हजार ६५७ जना पुगेको छ । भारतमा कोरोना भाइरस संक्रमण शुरु भएयता एकै दिनमा ३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएको यो पहिलो पटक हो । कोरोना माहामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्यांकले जानकारी दिएको छ । यद्यपि संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संंक्रमित भएका थिए ।

भारतमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार ४२८ रहेको छ । यहाँ हालसम्म एक करोड ३४ लाख ५४ हजार ८८० व्यक्ति कोरोनामुक्त भएका छन् । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो‚ सोही समयबाट अहिलेसम्म भारतमा १३ करोड २३ लाख ३० हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोना भाइरसविरुद्धको खोप चलाउने क्रम पनि चलिरहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा बुधबारमात्रै १६ लाख ३९ हजार ३५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कूल २७ करोड २० लाखभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा मंगलबार एकै दिनमा २८ हजार ३९५ जना कोरोना भाइरस सङ्क्रमित भएका २७७ जनाको मृत्यु भएको छ । भारतको दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना संक्रमणबाट १२ हजार ६३८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया