‘सम्वादको मेरो पहललाई कमजोरी नठानियोस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी एमाले नेता माधवकुमार नेपाललाई सम्वादको आफ्नो पहललाई कमजोरीको रुपमा नलिन चेतावनी दिएका छन् । बिहीवार बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् । ‘पार्टी अनुशासित बन्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं । मेरो सम्वादको पहललाई कमजोरीको रुपमा नबुझियोस् ।’

पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता नदिइनेसमेत ओलीले बताए । आफूले नेताहरुलाई सम्झाइ–बुझाइ गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले सम्वादको आफ्नो पहल पार्टी मिलाउनलाई भएको स्मरण गराए । ‘सम्वादहरु भइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यसलाई कसैले एक पक्षको कमजोरीको रुपमा चाहिँ बुझ्न हुन्न ।’

यसभन्दा अगाडि बुधवार प्रधानमन्त्री ओली र नेता नेपालबीच सम्वाद भएको थियो । पछिल्लो पटक पार्टीभित्र देखिएको राजनीतिक संकटले एमाले फुटको सन्निकट पुर्याएको छ । तर, दोस्रो तहका नेताहरुले भने एमाले अझै एक भएरै अगाडि जाने बताएका छन् । ओली पक्षीय नेता प्रदीपकुमार ज्ञवालीले मकालु खबरसँग भनेका छन्– ‘विगतमा भए/गरेका कमीकमजोरीलाई केलाउने र अबउप्रान्त पार्टीभित्र गुटबन्दी नहुने भनेर सम्झौता गर्नुपर्ने हुन्छ । यसो गरिएको खण्डमा अब पार्टी पुनः अगाडि बढ्छ भन्ने लागेको छ । त्यहीअनुसार हामी सम्वादमा पनि जुटिरहेका छौँ ।’

प्रतिक्रिया