कोरोना बिर्सिएर क्रिकेट हेर्न तछाडमछाड (तस्बिरहरू)

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टले दिन प्रतिदिन संक्रमण फैलँदो छ ।

सरकारले यसलाई नियन्त्रण गर्नका लागि विभिन्न मापदण्ड लागू गरिसकेको छ भने कतिपय स्थानमा दैनिक सञ्चालन भइरहने गतिविधिलाई समेत रोक लगाएको छ ।

तर मंगलबार त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहँदा मैदानबाहिरबाट हेर्ने मानिसको घुइँचोले ‘कोरोना संक्रमण नै छैन कि?’ भन्ने प्रतीत गराइरहेको थियो ।

मैदानमा दुई देशबीच खेल चलिरहँदा सुरु सुरुमा खेल हेर्न  आउने मानिस कम भएपनि बिस्तारै मैदान वरिपरी लगाएको बारबाहिरबाट खेल हेर्न मानिसहरू तछाडमछाड गरिरहेका थिए ।

सरकारले २५ जनाभन्दा बढी मानिस जम्मा हुन नदिने भनेपछि उक्त खेलका लागि टिकट काट्ने कार्यसमेत रोकिएको थियो । काटिएका टिकट पनि फिर्ता गरिएको थियो‚ तर ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं मानिसहरू जोखिम मोलेरै खेल हेरिरहेका थिए ।

मानिसहरू रुखमा चढेरसमेत खेल हेरिरहेका थिए । भीडमा जम्मा भएका कतिको मुखमा त मास्कसम्म पनि थिएन । सरकारले दिन प्रतिदिन कोरोना संक्रमण न्यूनीकरण गर्न विभिन्न मापदण्ड सार्वजनिक गरिरहँदा ती मापदण्डको कार्यान्वयनको पाटोमा पनि ध्यान पुर्‍याए कोरोना संक्रमणबाट भविष्यमा आइपर्ने सम्भावित जोखिम केही कम हुन्थ्यो कि !

प्रतिक्रिया