जापानले पत्ता लगायो पाँच मिनेटमै कोभिडको संक्रमण परीक्षण गर्ने प्रविधि

काठमाडौं । जापानले पाँच मिनेटमा नै कोभिड १९ को संक्रमण भए नभएकोबारे थाहा पाउने प्रविधि पत्ता लगाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको जापानी अधिकारीले जनाएका छन् ।

यहाँका राष्ट्रिय सञ्चारमाध्यमले मंगलबार यो समाचार सार्वजनिक गरेका छन् । हाल जापानमा पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । तर, पनि यो प्रविधिबाट हाल कोभिड १९को भाइरस पत्ता लगाउनका लागि कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ ।

अब भने कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेटभित्रै उसको शरीरमा कोभिड १९ पोजेटिभ भए नभएको पत्ता लाग्नेछ ।

यो प्रविधिले अब यहाँ कोरोनाको संक्रमणको परीक्षण गर्न र समयमै यो पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने विज्ञहरुले जनाएको जापानी सञ्चारमाध्यममा उल्लेख छ ।

यो प्रविधिबाट परीक्षण गर्न कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रुपमा र थोरै उपकरणको सहायताबाट नै पत्ता लाग्ने इन्स्टिच्युटका एक जना वैज्ञानिक रिकेन वातानावेले जानकारी दिए ।

प्रतिक्रिया