मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

स्क्रिप्ट, नेपाली फिल्म र शिवम्

काठमाडौं । सुरुआती दिनमा शिवम् अधिकारीको उद्देश्य चलचित्र निर्देशन गर्नु थियो । यसैको लागि उनी सहायक निर्देशकको रुपमा काम गर्दै थिए । यही क्रममा उनको हातमा स्क्रिप्ट आइपुग्यो ।

निर्देशन नै लक्ष्य बोकेका उनले स्क्रिप्टको ज्ञान भए आफू अझ बलियो हुने सोचे । पारिश्रमिकको समेत समस्या भएको समय उनलाई स्क्रिप्टको काम पनि जानी राखे कमाइ बढ्ने कुराले पनि लोभ्यायो ।

उनले उक्त समयका राम्रा स्क्रिप्ट लेखक सुरज सुब्बा ‘नाल्बो’ ले आफुलाई सहयोग गर्ने शिवम्ले ठाने । केही समय सुरजसँगै काम गरेका उनी कसैले अफर गरेमा आफैँ स्क्रिप्ट लेख्ने योजना बनाउँदै थिए । उनले चलचित्र क्षेत्रमा नजिक मानेका सुमन शाहीसँग सल्लाह सुझाव लिने गर्थे । शाहीले राम्रो ब्यानरमा काम गर्न सुझाउँथे । राम्रो स्क्रिप्ट पनि, राम्रो ब्यानर र निर्देशकको हातमा परेन भने ओझेल पर्न सक्ने सुमनको बुझाइ थियो । यही क्रममा केही चलचित्रका लागि स्क्रिप्ट लेख्न आएका अफर स्वीकार गर्न नसकेको उनी बताउँछन् ।

भोजपुरी चलचित्र ‘सबसे बढी रुपैयाँ’ मा आएको अफरमा भने उनले कोहीसँग सल्लाह नै नगरी काम गर्ने निर्णय गरे । चलचित्र तयार हुनासाथ प्रदर्शन हुने स्थिति थिएन । चलचित्रले पालो पाउन एक दुई वर्षसम्म पर्खिनुपर्थ्यो । तर, यो चलचित्र प्रदर्शन नहुँदै उनको हातमा थुप्रै चलचित्रका स्क्रिप्टको अफर आउन थाल्यो । ‘माउथ पब्लिसिटी’ ले उनको करिअरमा फाइदा पुग्यो । उनलाई चलचित्र ‘शिलशिला’ का लागि काम गर्ने अफर आयो ।

एउटा ६ लाइनको गीत लेख्न मागेको एक महिनालाई सहज रुपले लिने, तर हामी स्क्रिप्ट राइटरलाई अझै तयार भएन ?’ भन्दै मासिक दबाब दिने देखेर अचम्म लाग्छ ।

शिवम् अधिकारी

उक्त समय उनलाई तत्कालीन समयका जल्दाबल्दा कलाकार रेखा थापा, विराज भट्ट, निखिल उप्रेतीलगायतको साथ मिल्यो । उनीहरुले ‘एउटा नयाँ मान्छे आएको छ, राम्रो काम गर्छ’ भन्दै उनीहरुले अन्य चलचित्रकर्मीसँग शिवमकाे बजार बनाइदिए । उनले एकसाथ २४ वटा चलचित्रको स्क्रिप्ट लेख्ने जिम्मा लिए । उनी सम्झिन्छन्‚ ‘मैले आँखा चिम्मै गरेर हस्ताक्षर गरेको थिएँ ।’

उक्त समय उनी पारिश्रमिकमा कुनै ‘डिमाण्ड’ राख्दैनथे । २०/२५ हजार जति निर्माताले दिन्थे उनी त्यति नै थाप्दै गए । तर जब यी २४ चलचित्रको काम सकियो‚ उनलाई यसरी काम गर्नुहुँदैन भन्ने लाग्यो । उनलाई लाग्यो- त्यो २४ चलचित्रको साटो ४ चलचित्रको काममात्र गर्न पाए अझ राम्रो गर्न सकिन्थ्यो । त्यसैले उनले संख्या घटाएर क्वालिटी बढाउने योजना बनाए । तर सानो क्षेत्र भएपनि चलचित्र क्षेत्रमा धेरै खुट्टा तान्ने प्रचलन छ ।

जुन समय स्क्रिप्टको कुरा नेपाली चलचित्रकर्मीले गर्दैन थिए, स्क्रिप्टलाई एउटा किताबको रुपमा मात्रै मानिन्थ्यो, उक्त समय उनले निश्चित पारिश्रमिकबिना काम नै नगर्ने बताए । घाटा त उनलाई नै हुने थियो । राम्रो काममा एक हुन नसकेको चलचित्र क्षेत्र ‘एउटा नयाँ केटो’ लाई एक्ल्याउने प्रयासमा लाग्यो ।

उनी सम्झिन्छन्‚ ‘मभन्दा अग्रज स्क्रिप्ट राइटरको नाम लिएर निर्माता निर्देशकले फलानोले त यतिमा काम गर्छन् । तिमी ठूलो भयौ ?’ भन्नसमेत पछि परेनन् ।

२४ चलचित्रमध्ये ४ वटामा काम गरेको पारिश्रमिक पाएनन् । त्यसपछि उनले पारिश्रमिक अनुसारकै स्क्रिप्ट लेख्न थाले । न त कहिल्यै कसैले उनको ‘स्क्रिप्ट भएन’ भन्यो‚ न उनले नै मेहेनत गर्ने सोचे । ‘मेरो त व्यवसाय थियो, दामअनुसारकै काम गरेँ,’ शिवम् भन्छन् ।

यसै क्रममा शिवमले ९ महिनासम्म एउटै होटलमा बसेर स्क्रिप्टको काम गरे । फेरि उनलाई यसरी काम गर्नु हुँदैन भन्ने कुराले सताउन थाल्यो । बाहिर निस्किएर केही लेखकसँग चिनजान गरे । कम्तिमा हामी केही मिलेर हाम्रो पारिश्रमिक निर्धारण गरौँ भनेर सल्लाह गरे । तर कुरा गरुन्जेल मुन्टो हल्लाएर हस् भन्ने उनका समकालीनहरू त्यहाँबाट बाहिरिएलगत्तै पुरानै तरिकामा फर्किए । दाम कम भएपछि काम बढाउनैपर्ने बाध्यता पनि थियो ।

उनलाई अझै पनि लाग्छ- कसैले कम पारिश्रमिकमा स्क्रिप्ट लेख्छ भने या त उसले दाल भातको लागि काम गर्दैछ । या त उसको आफ्नो व्यक्तिगत कमजोरी नै हो । उनलाई चलचित्रमा लेखनको महत्व नै नभएकोमा दुःख लाग्छ । उनी कतिपय संचारमाध्यममा नै स्क्रिप्टलाई कथा भनेको सम्झिन्छन् । ‘यी पुराना निर्माताले त बुज्दैनन्’ उनी दिक्क मान्छन् ।

ऋचा घिमिरे, नवल खड्का, सानु शाक्यबाहेक कसैले पनि उनको माग पूरा गरेनन् । आफूले भनेको पारिश्रमिकमा काम नगर्दा अन्य निर्माता त ‘शिवम् ठूलो भयो’ भन्दै हल्ला फिँजाउन थाले । यसको प्रत्यक्ष असर उनले पाउने काममा समेत पर्न थाल्यो ।

अन्ततः निर्माता निर्देशकले नै त्यही खोज्छन् भने उनले निर्णय गरे अब ‘म नालीमै हात गाड्छु’ । उनको सोच, समय दिएर थोरै तर राम्रो काम गरौँ भन्ने थियो । समय बढी लागेपछि पारिश्रमिक बढ्न जरुरी थियो ।

त्यसो हुन सकेन । तर समग्र चलचित्र क्षेत्रमा यसको दीर्घकालीन असर देखिने नै भयो । संख्याको पछि लागेका निर्माता निर्देशकसँग उनी रहे । ‘म समय दिएर क्वालिटीको चलचित्र बनाउँछु भन्दा मलाई एक्ल्याउने प्रयास भयो । समग्र चलचित्र क्षेत्रले नै मलाई राम्रो प्रतिफल दिने वातावरण दिएन ।’

उनले समय लिएर र फ्रेस भएर काम गर्छु भन्दा समय पाएनन् । थाक लागेका चलचित्रका कथाको स्क्रिप्ट तयार गर्दै फ्याँक्न थाले । कतिपय चलचित्रको स्क्रिप्ट लेख्दै गर्दा उनले दिमागसमेत प्रयोग नगरेको सम्झिन्छन् । ‘निर्देशकलाई एउटा बुकको खाँचो थियो । दिन गन्तिको हिसाबले मैले ती बुक तयार गरिदिएँ । त्यही बुक बोकेर उनीहरू नयाँ निर्माता फसाउन जान्थे,’ उनको असन्तुष्टि खुम्चिएको अनुहारका कारण निधारमा परेका धर्साहरुले बोल्दै थिए ।

शिवमले एउटा आलेख लेखे । स्क्रिप्ट लेखन हलवालाबाट शुरु हुन्छ । ‘एउटा ६ लाइनको गीत लेख्न मागेको एक महिनालाई सहज रुपले लिने, तर हामी स्क्रिप्ट राइटरलाई अझै तयार भएन ?’ भन्दै मासिक दबाब दिने देखेर अचम्म लाग्छ,’ शिवमकाे गुनासो छ ।

उनलाई संस्थामा आबद्ध हुँदैमा काम हुन्छ भन्ने भरोससमेत छैन । उनी भन्छन्, ‘काम नगर्ने संस्थामा बस्नुको के अर्थ ?’ उनी स्क्रिप्ट राइटर एसोसिएसनमा बस्न कसैले अग्रेको आग्रह सम्झिन्छन् । योजना के त भन्ने उनको प्रश्नको जवाफ नपाएका उनी न त पदमा बसे न त साधारण सदस्य नै छन् ।

उनले चलचित्र ‘पञ्चायत’ बनाए । दर्शकको प्रतिक्रिया, देश विदेशमा पाएको सम्मान, अवार्डले मात्रै नभएर उनी स्वयंसमेत आफ्नो काममा सन्तुष्ट छन् । ‘समय हुँदा त म गर्न सक्ने रहेछु नि’ उनले आफूले आफैँलाई जाँचेर प्रमाणित गर्ने चलचित्र बन्यो- पञ्चायत ।

जे पायो त्यही लेख्छ शिवमले भन्ने चलचित्रकर्मीको मुखसमेत बन्द गर्न पाएकोमा उनी दङ्ग छन् । यसअघि उनले चलचित्र ‘सुश्री’ निर्देशन गरेका थिए । जानीनजानी बनाएको यो चलचित्रबाट उनले धेरै सिके पनि । अझै पनि यो चलचित्रका लागि युट्यूबमा आएको सकारात्मक कमेन्ट हेरेर ऊर्जा लिन्छन्, शिवम् ।

जस्तो पनि चलचित्र किन त ? भन्ने प्रश्नमा उनको जवाफ झनै गजब छ‚ ‘म व्यावसायिक लेखक भएपछि आउने पारिश्रमिकको आधारमा लेख्नुपर्छ । किराना पसलेकोमा गएर चुरोट माग्दा एउटा पसले भएपछि ‘चुरोट बेच्दिनँ, यो स्वास्थ्यको लागि हानिकारक छ’ भन्ने तर्क गर्न मिल्दैन नि । हो, मैले त्यसरी नै गरेको हुँ ।’

यसरी काम गर्दिनँ भन्दाभन्दै दशक बित्यो । तर शैली बद्लिएन, न त चलचित्र आउने क्रम नै घट्यो । एक दिन पनि फुर्सद पाएनन् उनले । अघिल्लो वर्ष लकडाउनमा चाहिँ उनी स्वयम् नै खाली बस्न चाहेनन् । नयाँ मान्छेको काम बन्दै गरेका उनले चिनजानका व्यक्तिकै काम गरेर पनि यो समयको उपयोग गरे । यो समय उनले सिरिजमा समेत हात हाले । सिरिज त झन् उनको लागि घातक भयो । भावनात्मक अत्याचारमा उत्रिएर निर्माताहरु त ‘तपाईले नगरे हामी के गर्ने ?’ पो भन्न थाले ।

अब त अति नै भयो भन्ने लागेर उनले आफ्नै करिअरलाई दाउमा लगाएर फेसबुकमा स्टाटस राखेर कुरा स्पष्ट पारे । पोस्ट गर्नुअघि उनले धेरैलाई हतार नगर्न आग्रह गरे, समय लिएर लेखिदिने बताए, तर केही गर्दा उपाय लागेन । उनले भुवन केसीलाई स्क्रिप्टका लागि भेटेर आएकै भोलिपल्टबाट मोबाइल बन्द गरे । अहिले उनले नयाँ नम्बर लिएका छन् । उनी हातमा भएका केही चलचित्र सकेर फुर्सदमा बस्न चाहन्छन् । दिमागमा कुनै प्रकारको प्रेसर नदिने पक्षमा छन् ।

उनको एक बलिउड चलचित्रको कामसमेत बाँकी छ । यो काम भने आफ्नै लागि भए पनि सक्नुपर्ने उनी बताउँछन् । त्यसो त उक्त चलचित्रको स्क्रिप्ट उनी एक्लैले लेख्नुपर्ने होइन । अन्य ३ जना लेखकसमेत छन् । यही चलचित्रका लागि भारत पुगेका उनको स्वास्थ्यमा समस्या आएका कारण नेपाल फर्किएका थिए ।

निरन्तर कामबाट फुर्सद लिन केही वर्ष पहिला चलचित्रकर्मी रेखा थापाले उनलाई केही महिना ध्यान केन्द्र जान आग्रह गरेकी थिइन् । यो समय भने उनलाई रेखाको यस विषयले झक्झक्यायो । अझै पनि उनी पूरै सन्यासी बनेर ध्यान गर्ने सोचमा त छैनन् तर, केही समय चलचित्र अझ स्क्रिप्टबाट भने छुटकारा खोजिरहेका छन् । उनी दुखेसो पोख्छन्, ‘काम त गरेँ तर कृति सिर्जना गर्न सकेको छैन ।’

उनले अबको खाली समयमा पुस्तक पढ्ने योजना बनाएका छन् । काम काम भनेर एक दिनसमेत फुर्सद नपाएका उनले साथीभाइ भेटघाटदेखि चलचित्र क्षेत्रका कार्यक्रममा समेत उपस्थिति जनाउने बताएका छन् । यसै पनि निर्देशन गर्न भनेर भित्रिएका शिवम् लेखनमा चुर्लुम्मै डुबे । उनको योजना अब चलचित्र पुनः निर्देशन गर्ने पनि छ ।

उनको स्क्रिप्ट लेखनप्रतिको वितृष्णाको अर्को कारण पारिश्रमिकसमेत रहेको छ । उनले लकडाउनको समय आफूले पाउनुपर्ने पैसाको हिसाब गरे ७० लाखभन्दा माथि बाँकी रहेछ । ‘अनि केका लागि काम गर्ने ?’ आक्रोशित हुँदै शिवम् भन्छन् ।

पैसा उठाउन सम्बन्ध सकेर अगाडि जानुपर्छ । उनीहरू नै पैसा दिँदैनन् । अझ बजारमा मेरै इमेज खराब बनाउँदै हिँडछन् । गरेको कामको पैसा लिन धेरै अप्ठ्यारो छ ।

उनले कति पटक त पारिश्रमिक लिन फरक फरक तरिका नै अपनाउनु परेको छ । पहिलोकै पैसा दिएको हुँदैन दोस्रो कामका लागि आइपुग्छन् निर्माता । यही समयमा उनले पैसा लिन्छन् अनि भन्छन्, ‘ल पहिलाको क्लिअर भयो ।’ अस्ति भर्खरैसमेत एक चलेकै ब्यानरको चलचित्रको छायांकन स्थलमा पुगेर उनले आफ्नै स्क्रिप्ट खोसेर फर्किएका थिए । सोही ब्यानरमा उनले यसअघि नै ४/५ चलचित्रमा काम गरिसकेका छन् । ‘पैसा उठाउन सम्बन्ध सकेर अगाडि जानुपर्छ । उनीहरू नै पैसा दिँदैनन् । अझ बजारमा मेरै इमेज खराब बनाउँदै हिँडछन् । गरेको कामको पैसा लिन धेरै अप्ठ्यारो छ ।’

‘उनलाई ९८ प्रतिशत चलचित्रकर्मीले यो क्षेत्रलाई छल गरेर दूषित पारेको भन्ने लाग्छ । पहिला चलचित्र नबुझेको कोही व्यक्ति यहाँको रमझम र ग्ल्यामरको आशामा निर्माता बनेर यो क्षेत्रमा प्रवेश गर्छ । उसले लगानी डुबाउँछ । तर, सोही लगानी उठाउन ऊ निर्देशक बन्छ र अरु कोही यो क्षेत्र नबुझेको व्यक्तिलाई निर्माता बनाउने बहानामा फसाउँछ,’ शिवम् भन्छन् ।

स्क्रिप्ट लेख्दैगर्दा समयको पावन्दी त मुख्य समस्या हो नै । त्योसँगै फलानोले लगानी गरेको छ । एक सिन थपिदिनुस् भन्दै आउँछन् । अझ कलाकारहरू अभिनय त जान्दैनन् नै‚ यो सिन यस्तो‚ त्यो उस्तो भन्दै स्क्रिप्ट सिकाउन आउँछन् । उनी धेरै पटक ‘मलाई लेख्न सिकाउ’ भन्दै कड्किएका समेत छन् । यस्तो प्रेसरमा राम्रो स्क्रिप्ट नबन्ने उनको तर्क छ ।

उनले चलचित्रको स्क्रिप्टका लागि मूड बन्नुपर्ने बताए । गंगाजल चलचित्र ४ दिनमा लेखेका थिए शिवमले । हाल प्रदर्शन भइरहेको श्री चलचित्र उनले २४ घण्टामा लेखेका हुन् । उनले काली चलचित्रको स्क्रिप्टसमेत एक हप्ता नहुँदै लेखेर सकेका थिए । यता उनीको निर्माण निर्देशनसमेत रहेको चलचित्र ‘कोपिला’ २० दिनको तयारीपश्चात् फ्लोरमा गएको थियो । तर उनलाई यसको स्क्रिप्ट चारपटक अझै पढेको भए, चारजना व्यक्तिलाई देखाएको भए, कमजोरी हटाउन सकिने रहेछ भन्ने लाग्छ ।

समय समयमा स्क्रिप्टकै विषयमा गोष्ठी सेमिनार हुने गर्छन् । त्यस्ता कार्यक्रममा शिवम समेत सहभागी भएका छन् । तर यस्ता विषयको चर्चा परिचर्चा र प्रयोग त्यही चार कोठाभित्र हुने उनको तर्क छन् । यसको गतिलो उदाहरण चलचित्रकर्मीले नै वान् लाइन स्टोरी, डाइलग र स्क्रिप्टमा फरक नदेख्नु र चलचित्र लेख्ने व्यक्तिलाई संचारकर्मीले कथाकारको रुपमा चिनाउनुलाई उनले लिएका छन् ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com