महिलाका लागि फिल्म मेकिङ कार्यशाला हुने

काठमाडौँ । किपालय प्रोडक्सन र प्लान इन्टरनेशनलको सहकार्यमा महिलाहरूलाई समेटेर फिल्म मेकिङ कार्यशाला गर्ने भएको छ । प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रजेन्टेसन’ अन्तर्गत महिलालक्षित डकुमेन्ट्री कार्यशालाबाट १० जना महिलालाई सहभागी गराउन लागेको हो ।

नेपाली चलचित्रमा पटक पटक महिलाको चरित्र चित्रण अस्वाभाविक र यथास्थितिवादी हुने गरेको टिप्पणी गरिँदै आएको छ । यही महिला सम्बन्धी ‘स्टेरियोटाइप’ चिर्न र चलचित्र निर्माणमा महिलाको सङ्ख्या बढाउने उद्देश्यले कार्यशाला गर्न लागेको आयोजकले जनाएको छ ।

कार्यशालाकी प्रबन्ध निर्देशक आश्मा पोखरेलका अनुसार कार्यशालाका लागि देशभरबाट आवेदन मागिने र यसरी आएका आवेदनबाट १० जनालाई छनोट गरिने छ । १ महिना चल्ने कार्यशाला काठमाडौँ र चित्लाङ गरी दुई ठाउँमा सम्पन्न हुनेछ ।

कार्यशालामा १८ देखि २४ वर्षभित्रका महिलाले यही शुक्रबार सम्ममा आवेदन दिन सक्नेछन् । कार्यक्रममा आवेदनका लागि र छनौटमा परेका व्यक्तिका लागि कुनै शुल्क नलाग्ने किपालयले जनाएको छ ।

प्रतिक्रिया