रानीमहल : रङ फेरियो तर अवस्था फेरिएन

रुपन्देही । काठमाडौंको सामाखुशीकी शकुन्तला ढकाललाई पाल्पाको रानीमहल हेर्ने वर्षौं देखिको धोको थियो । प्रेमको प्रतीक मानिने रानीमहल साँच्चिकै सुन्दर र आकर्षक होला भन्ने अपेक्षा लिएर रानीमहल हेर्न पुगेकी ढकाल त्यहाँ पुग्दा भने खिन्न भईन् । उनको कल्पनामा जस्तो थियो, वास्तविक त्यस्तो थिएन रानीमहल ।

‘मैले त राजाले बनाएको दरबार अत्यन्तै आकर्षक होला भन्ने सोचेकी थिएँ तर यहाँ आउँदा त एउटा रित्तो भवन मात्रै रहेछ’, ढकालले भने, ‘त्यतिबेलाको राजामहाराजाको तथा महलको पनि झल्को दिने कुनै सामान यहाँ रहेनछन् । न त यसको ऐतिहासिक महत्वबारे यहाँ कतै लेखिएको पाइयो ।’ ऐतिहासिक महत्वको स्थल भएर पनि व्यवस्थित गर्न नसक्नु कमजोरी भएको ढकालको भनाइ छ ।

साथीहरुसँगै काठमाडौँ बानेश्वरबाट रानीमहल अवलोकनका लागि पुगेका भवानी सिंह पनि दङ्ग परिन् । ‘रानीमहलका बारेमा धेरै सुने पनि आँखा अगाडि देख्न पाउँदा वास्तविकता थाहा हुँदो रहेछ, मैले त नाम सुन्ने बित्तिकै कति राम्रो र आकर्षक होला भन्ने कल्पना गरेकी थिएँ तर रित्तो घर मात्रै देखेपछि अलि नमज्जा लाग्यो’, सिंह भन्छिन्, ‘यहाँ आउँदा रानीमहलका बारेमा धेरै कुरा बुझ्न र देख्न पाइन्छ जस्तो लागेको थियो तर त्यस्तो भएन ।’

विसं १९५४ मा तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी प्यारी रानी तेजकुमारीको सम्झनामा पाल्पाको तानसेन नगरपालिका–१३ स्थित कालीगण्डकी नदीको तिरबाटै जग उठाएर रानीमहल निर्माण गरेका थिए । धार्मिक रूपमा पवित्र कालीगण्डकीको किनारमा रहेको विशाल पत्थरबाट ठड्याएर बनाइएको विशाल दरबार व्यवस्थित नगरिँदा त्यहाँ पुग्ने पर्यटक खिन्न हुने गरेका छन् । ‘रानीको स्मृतिमा बनाइएको रानीमहलबारे धेरै सुनेको थिएँ त्यसैले पहिलो पटक घुम्न आएँ । त्यति व्यवस्थित र आकर्षक भने रानीमहल रहेनछ’, रुपन्देहीको भलुहीका सुरज सुनारले भने ।

करीब ५६ फिट चौडाइ, ११२ फिट उचाइ भएको चारतले भवनको सन् १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवासहित निर्माण कार्य पूरा भएको थियो । यस महल जीर्ण भएपछि २०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले रानीमहलको पुनर्निर्माण गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारले रानीमहल परिसरमा सामान्य पार्क निर्माण गर्नेबाहेक खासै काम गरेको छैन ।

रानीमहललाई प्रदेशको महत्वपूर्ण पर्यटकीयस्थल बनाउने लक्ष्यअनुसार पहिलो चरणमा पार्क बनाउने काम भए पनि तानसेन नगरपालिकालाई जिम्मेवारी दिइएकाले अहिले कुनै योजना तथा कार्यक्रम तय नभएको बताउँछन् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दीपक ज्ञवाली ।

पाल्पा सदरमुकाम तानसेनबाट करीब १४ किलोमिटरको दूरीमा रहेको रानीमहल ऐतिहासिक महत्वको स्थल भएर पनि सरकारको खासै प्राथमिकतामा परेको छैन । सदरमुकामबाट महल पुग्ने सडक निर्माणको काम भइरहेको छ । यो आर्थिक वर्षमा सबै सडक कालोपत्र हुने तानसेन नगरपालिकाले जनाएको छ ।

साबिकको बौघागुम्बा गाविस–२ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि उभिएको छ । रानीमहल दरबारको बायाँतर्फको शीतलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एकै किसिमका शिव र गङ्गाका दुई मन्दिर छन् ।

यो महलको युनानी शैलीमा बेलायती इन्जिनीयरले डिजाइन गरेका थिए । वरिपरि रहेको बगैँचा र रानीपोखरीले महल आकर्षक देखाएको छ । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा छ । महलभित्र पानीपोखरी, मन्दिर, बगैँचा आदि रहेका छन् ।

दरबारको मूलढोकाबाट कुँदिएका ढुङ्गा र इँटाबाट बनाइएका खुड्किला तल सिधा कालीगण्डकी नदी कुण्डसम्म जोडिएका छन् । प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार भएकाले तीर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवासमेत निर्माण गरिएको छ ।

पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम करीब तीन घण्टा पैदल यात्राबाट रानीमहल पुग्न सकिन्छ । सन् १९६० मा खड्ग शमशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाई तैनाथी आफ्नो हातमा लिएका थिए । खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमूल्य वस्तु छोडेर तीनवटा साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतीक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको स्थानीय बासिन्दाको भनाइ छ । दिवङ्गत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया