३५ दिनभित्र बादलको स्थानमा उपनिर्वाचन गरिसक्नुपर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका रामबहादुर थापा बादल आइतबार पदमुक्त भएसँगै उनको ठाउँमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गरिसक्नुपर्ने उल्लेख गरिएको छ ।
बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका बादलको २०७५ असार ४ गते भएको गोलाप्रथामार्फत् आफ्नो पदावधि ६ वर्षका लागि कायम गराएको थियो ।
यसअघि नेकपा माओवादी केन्द्रले बादलले पार्टीविपरीत काम गरेको र अन्य पार्टीका गतिविधिमा सहभागी भएकाले संसद सचिवालयमा संसद पद खारेजका लागि निवेदन दर्ता गराएका थिए । यसपछि आजमात्रै उनी पदमुक्त भएका थिए ।
पदमुक्त बादलको एमाले नेताको हैसियतमा आजै साँझ ५ बजे गृहमन्त्रीको रुपमा सपथ ग्रहण गर्ने कार्यक्रमसमेत रहेको छ ।








