कोरोनाको दोस्रो लहर: के छ चलचित्रकर्मीको योजना ?

काठमाडौँ । कोरोना भाइरसको नयाँ स्वरुप पुरानोभन्दा संक्रामक ठहरिएको छ । संक्रमणको शृङ्खला चुलिँदै गए यसले सबै क्षेत्रलाई प्रभावित पार्ने निश्चितप्रायः छ । त्यसो त यसले चलचित्र क्षेत्रलाई पनि छोड्ने छैन । पहिलो चरणको बन्दाबन्दीले नै थला पारेको चलचित्र क्षेत्र बन्दाबन्दी दोहोरिए के हुने ? भन्नेबारे चलचित्रकर्मीहरु चिन्तित देखिएका छन् ।

उसो त बन्दाबन्दी दोहोरिए चलचित्रकर्मीहरुले के गर्ने योजना बनाएका छन् ? यसबारे मकालुकर्मी दिक्षा कट्टेलले चलचित्रकर्मीहरुसँग जिज्ञासा राखेकी छन् ।

  • चलचित्रकर्मीका योजना

निर्देशक नवल नेपालले यो परिस्थितिमा सबैलाई सजग र सचेत हुन आग्रह गरेका छन् । लकडाउन या भारतमा झैं कर्फ्यू लाग्यो भने समस्या हुने देखेका उनले अहिलेको परिस्थितिमा सानो समूह र डिजिटल प्ल्याटफर्मलाई उपयुक्त तरिका मानेका छन् ।

यदि लकडाउन नै भयो भने केही स्क्रिप्टको काम बाँकी रहेकोले पहिलो प्राथमिकता लेखन हुने उनले बताएका छन् । बाँकी चाहिँ समयजस्तो आउँछ त्यहीअनुसार नै आफूलाई अनुकूल बनाउँदै लैजाने उनको योजना छ । उनको आगामी प्रोजेक्ट ‘दिल चुप छ’ को पोस्ट प्रोडक्सनको काम चलिरहेको छ ।

यता स्क्रिप्ट राइटर शिवम् अधिकारीको विश्रामले लामै चर्चा पायो । उनले अध्ययनका लागि छुट्याएको केही समयलाई सन्यासको नाम दिएरसमेत हल्ला फिजाइयो । उनी भने सामान्य स्थिति नै भए पनि पुस्तक पढेर समय बिताउने योजनामा रहेको बताउँछन् ।

आफूसँग भएका सबै कन्सेप्ट सकिएको बताउने उनले पुनः नयाँ सिर्जनाका लागि अध्ययन जरुरी ठानेका छन् । उनी महाभारत र विकासानन्दका केही पुस्तकहरू पढेर आफूलाई अपडेट गर्ने योजनामा छन् । यसै पनि उनी केही समय ब्रेक लिएर चलचित्र निर्देशनको योजनामा रहेको बताउने गरेका छन् । अबको समय उनी यसैमा खर्चिने छन् ।

कलाकार पुष्प खड्का सबैलाई सुरक्षित रहन आग्रह गर्छन् । उनको अबको योजना स्क्रिप्ट पढ्नमा खर्चिने छ । स्वास्थ्य मापदण्ड पालना गर्दै भीडभाडमा नगइ सुरक्षित रहने उनको योजना छ ।

भन्छन्- ‘अहिले हरेक देश आफ्नो छुट्टै शैलीले कोरोनासँग लड्दै गरेका छन् । सबै कुरा ठप्प पारेर कोरोना नियन्त्रणमा आउँछ र यो निर्मूल हुन्छ भन्नु त्यति व्यवहारिक हुँदैन जस्तो लाग्छ । जबसम्म प्रत्येक नागरिक आफैँ सचेत र सतर्क हुँदैनन्, तबसम्म यो नियन्त्रणमा आउँदैन । नेपाल जस्तो गरिब देशमा सरकारले फरक शैली अपनाएर देशलाई चलायमान गराउनु नै उपयुक्त हुनसक्छ ।‘

उनको विचारमा लकडाउन समाधान नभएकोले सावधानी अपनाउँदै सरकारले देशलाई चलायमान राख्नुपर्छ । उनी स्वयम् भने सामाजिक सञ्जालमा ठूलो संख्यामा हुने पहुँचलाई ध्यानमा राख्दै सूचना र सचेतना फैलाउन सहयोग गर्ने योजनामा छन् ।

कलाकार रसराज गराचको भने यसै गर्ने भन्ने योजना छैन । उनलाई फेरी पनि लकडाउन नहोस् र यसको योजना बनाउन नपरोस् भन्ने लागेको छ । तर यदि परिस्थिति नै त्यस्तै आयो र लकडाउन भयो भने ‘के नै गर्न सकिन्छ र !’ उनी भन्छन् । यदि भइहाल्यो भने उनी केही म्युजिक भिडिओमा लागि कन्सेप्टको तयारी गर्नेछन् । त्यस्तै अर्को एक चलचित्रका लागि कुराकानी भइरहेकोमा यसैको पूर्वतयारीमा समय बिताउनेछन् ।

प्रतिक्रिया