कर्णाली प्रदेश : ‘फ्लोर क्रस’ गर्ने तीन सांसदलाई कारबाही

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन सांसदलाई कारबाही गरेको छ । प्रदेश कमिटीको शनिवार (आज) बसेको बैठकले सांसदहरु अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्कासन गरेको नेता यमलाल कँडेलले मकालु खबरलाई जानकारी दिए ।

नेता कँडेलकाअनुसार प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य भएकाले कारबाहीका लागि सिफारिस गरिएको छ । ‘उहाँ (तीन सांसद) हरु प्रदेश कमिटी मातहतको कमिटीमा रहनुभएकाले प्रदेश कमिटीले नै कारबाही गरेको हो,’ नेता कँडेलले भने, ‘प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य हुनुभएकाले कारबाहीको सिफारिस गरिएको हो ।’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रवार सदनबाट विश्वासको मत लिएका थिए । जसमा विपक्षी एमालेका ४ सांसदले पनि मुख्यमन्त्रीलाई नै सघाएका थिए । सदनमा मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा अगाडि सत्तापक्षीय एमालेले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । मुख्यमन्त्री शाहीले सदनबाट विश्वासको मत लिएबित्तिकै बसेको एमाले संसदीय दल (कर्णाली प्रदेश) को बैठक चारै सांसदलाई कारबाहीको सिफारिस गरेको थियो ।

प्रतिक्रिया