जाने जाँदै गर्छन्, फकाउँदिनँ : प्रचण्ड (भिडिओसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीबाट बाहिरिनेहरुलाई आफूले नफकाउने बताएका छन् । शनिवार शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘जाने जाँदै गरुन्,’ अध्यक्ष प्रचण्डले भने, ‘म फकाउँदिनँ । अचेल मलाई फकाउन मन लाग्न छाडेको छ ।’

माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका नेताहरुप्रति इङ्गित गर्दै अध्यक्ष प्रचण्डले भने– ‘त्यतिका क्रान्तिकारी पृष्ठभूमि बनाएका साथीहरुले छाड्छन् भने के भन्नु ? ठिकै भन्नुपर्यो । जाने जाउन्, गर्न केही सकिँदैन । कतिपय साथीहरुले फकाउनुपर्यो भनेर भन्नुहुन्छ । तर, आजभोलि मलाई फकाउन मन लाग्न छाडेको छ ।’

माओवादीको मुद्दा जनताका लागि प्रिय भएको पनि अध्यक्ष प्रचण्डले बताए । ‘काठमाडौं बसेर कतिपयले अब माओवादी सकियो, प्रचण्ड सकियो भनेर भनिरहेका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘मलाई पनि हो कि जस्तो पनि लाग्यो । अनि जनतामाझ गएँ । तर, त्यसो होइन रहेछ । हाम्रो नेतृत्व किन हामीमाझ आउँदैन भनेर पो यस्तो भएको रहेछ । त्यसैबेला मैले थाहा पाएँ कि हाम्रो पार्टीको मुद्दासँग कोहीकसैलाई उदासीनता छैन ।’

योबिचमा केही माओवादी नेताहरु बिग्रिएको बताएका अध्यक्ष प्रचण्डले आफ्नो विरासत कसैले भुल्न नहुने औंल्याए । यसअघि पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, दावा लामालगायत एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया