सिभिल बैंकका सीईओ गुरुङद्वारा राजीनामा

काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् । वैशाख १७ गतेदेखि लागू हुनेगरी उनले सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् । सञ्चालक समितिको बैठकले उनको रानीनामा स्वीकृत गर्न भने बाँकी रहेको बैंक स्रोतले जनाएको छ ।

सन् २०१२ को अक्टोबरमा डेपुटी सिइओको रुपमा बैंकमा जागिर सुरु गरेका गुरुङ २०१७ को मेमा बैंकको निमित्त सिइओ र त्यसपछि सिइओ भएका थिए । झण्डै ४ वर्षे कार्यकाल पूरा हुन लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । सिभिल बैंकमा जानुअघि गुरुङले मिालयन, ग्लोबल र मेगा बैंकमा समेत काम गरेका थिए ।

विद्यावारिधि अध्ययनका लागि भन्दै राजीनामा दिएका गुरुङ म्यानमारमा सञ्चालनमा रहेको म्यानमार सिटिजन्स बैंकको सीईओ भएर जाने तयारी गरिरहेको बैंक स्रोतको दाबी छ । नेपाली टेकराज पराजुली सिनियर भाइस प्रेसिडेन्ट रहेको म्यानमारको उक्त बैंकमा सिइओको पदभार सम्हाल्न पाए भने विदेशी बैंकमा गुरुङ पहिलो नेपाली सीईओ हुनेछन् ।

त्रिभुवन विश्व विद्यालयबाट एमबीए गरेका गुरुङ २५ वर्षदेखि बैंकिङ क्षेत्रमा सक्रिय छन् । उनी गीत संगितमा समेत क्रियाशील रहेका छन् ।

प्रतिक्रिया