भारतमा एकै दिन २ लाख १७ हजार जना संक्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि कुल संक्रमितको संख्या एक करोड ४२ लाख ९१ हजारभन्दा बढी पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

भारतमा कोरोना भाइरस संक्रमणको माहामारी सुरु भएयता एकै दिनमा २ लाख १७ हजार भन्दा बढी संक्रमित भएको यो नै पहिलोपटक भएको समाचारमा जनाइएको छ । यसअघि बुधबार एक दिनमा २ लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए ।

कोरोना संक्रमणबाट बिहीबार एकैदिनमा एक हजार १८५ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७४ हजार नाघेको छ । पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित हुँदै आएका थिए भने, बुधबार र बिहीबार २ लाखभन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

भारतमा हाल १५ लाख ६९ हजार ७४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म ११ करोड ७२ लाख २३ हजार भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् ।

विगत केही दिनहरुमा कोभिड १९ को सङ्क्रमण उच्च रहेको छ । संक्रमण बढ्दै गएपछि विद्यालयहरूले परीक्षा रद्द र स्थगित गर्दै आएका छन् ।

प्रतिक्रिया