वर्ष २०७७ : हलमा चार चलचित्र

काठमाडौँ । चलचित्र प्रदर्शनको हिसाबले २०७७ साल खासै सुखद् रहेन । लकडाउनको समयमा बन्द भएका चलचित्र हललाई सरकारले पुस १९ मा खोल्ने अनुमति त दियो तर, दर्शक हलसम्म आउन डराए ।

५० प्रतिशत दर्शक राखेर चलचित्र चलाउने सरकारी निर्णयलाई निर्माताले साथ दिन सकेनन् । ठूलो लगानीमा निर्माण गरिएको चलचित्रलाई जुवाको खाल बनाउने हिम्मत उनीहरूले गरेनन् । तर पनि ४ नयाँ चलचित्र भने हलमा लागे । सरकारको हल खोल्ने निर्णयसँगै लकडाउनअघि प्रदर्शित दुई चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ हलमा लगाइयो । तर दर्शक हलमा आउने माहौल बनेन ।

निर्माणकै क्रममा विवादित बनेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ हलमा त लाग्यो । तर लकडाउनमा राष्ट्रिय अन्तरराष्ट्रिय चलचित्र हेरेर बाठा बनेका  दर्शकले चलचित्रको छायांकन नसकिँदै हलमा लागेको थाहा पाए । त्यसैले पनि करिश्मा मानन्धरकी छोरीलाई नायिका र शिव श्रेष्ठको छोरालाई नायक बनाउने सपना तुहियो ।

यो चलचित्र प्रदर्शनको लामै समयपछि चलचित्र ‘गोर्खे’ प्रदर्शनमा आयो । फागुन २१ मा आएको उक्त चलचित्रले समेत हलमा खासै दर्शक भित्र्याउन सकेन ।

नयाँ वर्ष लाग्दै गर्दा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘बेस्ट फ्रेन्ड’ त दशकअघि नै तयार चलचित्र थियो ।

त्यस्तै लकडाउनको विषय उठाएर बनाइएको चलचित्र ‘श्री’ समेत प्रदर्शनमा आएको छ । पहिलो पटक सन्दीप क्षेत्रीको मुख्य भूमिकामा बनेको यो चलचित्रमा लगानी पनि खासै धेरै छैन । चलचित्र हेर्ने दर्शकले प्रशंसा गरे पनि आउनुपर्ने जति दर्शक हलमा देखिँदैनन् ।

धेरै निर्माताले भारतीय चलचित्रले दर्शक तानेर माहौल बनेपछि बल्ल चलचित्र प्रदर्शन गर्ने तयारी गरेका थिए । तर भारतीय चलचित्र नै प्रदर्शन हुन नसकेपछि मिति तय गरेका धेरै चलचित्रले बोली फेरे । विषम परिस्थितिलाई कारण बताउँदै निर्माता आफ्नो तयारी अवस्थामा रहेको प्रोजेक्ट थन्काएर बसेका छन् ।

प्रतिक्रिया