थप १९विधामा विश्व कीर्तिमानी राख्दै डा. उपाध्याय

काठमाडौँ । गीतकार एवम् साहित्यकार डी. आर उपाध्यायले गीतसङ्गीतबाट थप १९विधामा विश्व रेकर्ड थप्दै छन् । यस अघि उनले विभिन्न ३२ विधामा फरक फरक वर्ल्ड रेकर्ड बनाइसकेका थिए । सोमबार बेलुका काठमाडौँमा पत्रकार भेटघाट आयोजना गर्दै उपाध्यायले अब १९ वटा फरक विधामा विश्व रेकर्ड थपेर ५१ विधामा रेकर्ड कायम गर्न लागेको बताए ।
उपाध्यायले यस पटक गिनिज अफ वर्ल्ड रेकर्ड, अमेरिकन बुक रेकर्ड, ब्रिटिस रेकर्डसहितका रेकर्ड राख्न लागेका हुन् । नयाँ वर्षको अवसर पारेर आगामी ६ वैशाखमा काठमाडौँको रसियन कल्चरल सेन्टरमा एक कार्यमाझ उनले रेकर्ड ग्रहण गर्ने भएका छन् ।
अब १९ वटा वर्ल्ड रेकर्ड उपाध्यायले बनाएपछि गीतसङ्गीतबाट अहिलेसम्मकै सबैभन्दा बढी रेकर्ड राख्ने देश नेपाल पर्नेछ । गीतसङ्गीतमा ५१ वटा विश्व रेकर्ड एकै व्यक्तिको नाममा हालसम्म कसैको पनि छैन । उपाध्यायलाई सङ्गीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारी (शरद)ले सघाउँदै छन् ।
यस पटक गीतकार उपाध्यायले विश्वकै छोटो गीत, विश्वकै सबैभन्दा लामो गीत, विश्वका सबै देशका मुद्राहरू समेटेर तयार गरिएको गीत, विश्वका सबैभन्दा धेरै पर्यटकीय स्थलको नाम समेटेर तयार गरिएको गीत, सबैभन्दा बढी फूलहरूको नाम समेटेर तयार गरिएको गीत, सबै भन्दा बढी पटक आमा शब्द प्रयोग गरिएको गीत जस्ता विधामा फरक फरक रेकर्ड राख्न लागेका हुन् ।








