सेनको ‘निदाऊ के सपनीमा’ लाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ । चलचित्र निर्माता तथा निर्देशक सन्तोष सेनले भारतको महाराष्ट्रमा वितरण गरिएको एउटा अन्तर्राष्ट्रिय अवार्ड आफूले निर्देशन गरेको एक गीति कथाबाट जितेका छन् । सेनलाई महाराष्ट्रको औरंगावादमा आयोजित रील्स इन्टरनेशनल फिल्म फेस्टिभल-२०२१ मा बेस्ट डाइरेक्टर अवार्डद्वारा पुरस्कृत गरिएको हो ।
‘निदाऊ के सपनामा…’ गीति कथाका लागि पुरस्कृत भएको प्रमाणपत्र तथा मेडल फेसबुकमा शेयर गर्दै निर्देशक सेनले खुसी व्यक्त गरेका छन्

उनले लेखेका छन्–‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड मेरो नाममा आउँदा झसङ्ग भएँ ।’

सेनले नेपालका धेरै अवार्डप्रतिको अविश्वासका कारण आफू पछिल्लो छ वर्षदेखि अवार्डबाट टाढा रहेको उल्लेख गर्दै भन्छन्–‘अवार्ड पाउने बेलाभन्दा पनि नोमिनेशनमा असली सिर्जना नपर्दा भड्किएको थियो मेरो मन ।’

‘यो अवार्ड, सम्मान भन्ने कुरा यदि सृजनशील कला, सम्मानको लागि गरिएको हो भने न चाकरी, सम्बन्धले रोक्यो, न सिमानाले रोक्यो, न त स्थलमा नै पुग्नु पर्‍यो । यो प्रोजेक्टमा जोडिनु हुने मेरो सबै टिमलाई पनि भारी सम्मान छ ।’

छोटा चलचित्रको रूपमा तयार पारिएको उक्त गीति कथामा सुगम पोखरेल तथा कविता श्रेष्ठको स्वर रहको छ । गीतमा एलिश कार्कीको सङ्गीत तथा राजेश कुमार श्रेष्ठको शब्द छ । भिडियोमा मनिष राउत, रेश्मा घिमिरे, नेरिस्का स्थापित, युसिन चन्द, कमलेश बराल लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया