मलाई कार्यकर्ताले मदन भण्डारीसँग दाँज्न थालेपछि ओलीले देख्न सकेनन् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकर्ताहरुले आफूलाई मदन भण्डारीसँग दाँज्न थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले देख्न नसकेको बताएका छन् । शनिवार माओवादी केन्द्रको कर्णाली सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘मैले पोहोर माघमा तत्कालीन नेकपाको केन्द्रीय कमिटी बैठकको नेतृत्व गरेँ,’ अध्यक्ष प्रचण्डले भने, ‘बैठकले बडो सफलता पायो । त्यसपछि मलाई कार्यकर्ताहरुले पनि हामीले मदन भण्डारी भेट्यौँ भनेर भने । त्यसपछि नै हो केपी शर्मा ओलीले मलाई देख्न सहेनन् । मेरो राम्रो काम हेर्न सकेनन् ।’

यस्तै अध्यक्ष प्रचण्डले संघीयता, गणतन्त्र, समावेशी, समानुपातिकलगायतका एजेण्डा माओवादी पार्टीको भएको बताएका छन् । ‘यी एजेण्डाहरु हाम्रो हो,’ अध्यक्ष प्रचण्डले भने, ‘कुनै राजा महाराजाको होइन ।’

एमालेसँग गठबन्धनमा आफूहरुबाट कुनै किसिमको गल्ती नभएको दाबी गरेका अध्यक्ष प्रचण्डले भनेका छन्, ‘पार्टी एकताको प्रस्तावक पनि मै हुँ । पार्टी शक्तिशाली बनाएर समाजवातर्फको यात्रा तय गरौँ भनेको ओलीले साथ दिएनन् ।’

प्रतिक्रिया