महासंघ चुनाव : मतगणना जारी, पोख्रेल प्यानल अगाडि

काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन समितिका सदस्य रामहरि सिलवालकाअनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मत परिणाम आइसकेको छ ।

रुकुम पूर्वबाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो । अझै १६ जिल्लाका मत परिणाम आउन बाँकी रहेको उनले जानकारी दिए । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मतगणना भइरहेको छ ।

पछिल्लो मतपरिणामअनुसार विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ । पोख्रेल नेतृत्वको प्यानल अर्का प्रतिस्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानलभन्दा २ हजार बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए ।

पछिल्लो मत परिणामअनुसार पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको सिलवालले जानकारी दिए । सिलवालले विद्युत् आपूर्तिमा समस्या आएकाले जाजरकोट, हुम्लालगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आइपुग्न कठिनाई भएको बताए ।

मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।

प्रतिक्रिया