निजी क्षेत्रको मनोबल उठाउन सरकार प्रतिबद्ध: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल माथि नउठाईकन र आत्मविश्वासयुक्त वातावरण निर्माण नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताएका छन् ।

निर्यात व्यवसायी महासंघ नेपालको शुक्रबार आयोजित प्रथम साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको मनोबल उठाउनको लागि सबै हिसाबले प्रतिबद्ध रहेको बताए ।

उद्योगी-व्यवसायीका समस्या सुन्न, समाधान गर्नका लागि सरकार छलफल गर्न र कार्यान्वयन गर्न तत्पर रहेको पनि उनले बताए । कोभिड-१९ महामारीको बीचमा पनि निजी क्षेत्रलाई ढाडस दिने उद्देश्यले सरकारले विभिन्न किसिमका प्रयत्न गरेको उनले उल्लेख गरे । ती सबै चिजहरु क्रमिक रुपमा कार्यान्वयमा आएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यसपटकको बजेट र मौद्रिक नीतिमा पनि कोभिडको कारणले थला परेको अर्थतन्त्रको पुनरुत्थानका लागि कार्यक्रमहरु आउने विश्वास व्यक्त गरे ।

आयातको तुलनामा निर्यात कम भएको तर आयातलाई रोक्न नहुने पनि उनले बताए । उत्पादन बढाउँदा आयात आफैँ निरुत्साहित हुने उनको भनाइ छ । नीतिगत रुपमै व्यापारलाई भन्दा उद्योग प्रतिष्ठानलाई जोड दिन पनि उनले माग गरे ।

प्रतिक्रिया