ओलीसँग मिल्न गएका प्रचण्डलाई ठिक्क पर्‍यो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न गएका प्रचण्डलाई ओलीले लात हानेपछि ठिक्क भएको भन्दै कटाक्ष गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै सभापति देउवाले आफूले पटकपटक प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि त्यसलाई अस्वीकार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बल्ल थाहा पाएको भन्दै कटाक्ष गरेका हुन् ।

उनले भने‚ ‘मैले प्रचण्डलाई तपाईं नै हो प्रधानमन्त्री बन्नु भनेको हो नि । उनी उता गइदिए । तपाईं नै प्रधानमन्त्री बन्नू । म मान्छु भनेको हो मैले । प्रचण्डले बल्ल थाहा पाए । धेरै पटक प्रधानमन्त्री बनाउन खोजेको होइन हामीले प्रचण्डलाई ? तपाईंहरुलाई थाहा छ नि । खुट्टै नटेक्ने मान्छे । ओलीले लात हानेपछि ठिक्क भएको छ । अहिले म आफू प्राइमिनिस्टर हुन चाहेको पनि छैन । जो सुकै होस् ।’

उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रहसमेत गरेका छन् ।

सरकार गठनमा कांंग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसदमा कांग्रेसको उपस्थितिलाई बुझ्न उनले आग्रह गरे ।

उनले संसदमा आफूहरुको संख्या कम भएको र सरकार गठनका लागि अरुलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोखे ।

उनले भने‚ ‘प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन । पार्लियामेन्टमा हाम्रो संख्या नपुगेर हामीले बोलाउन सकेनौँ । यो वास्तविकतालाई सबैले बुझ्नुपर्‍यो ।’

विभिन्न किसिमका टिकाटिप्पणीभन्दा पनि वास्तविकताको धरातलमा बसेर काम गर्नुपर्नेमा उनले सबैलाई आश्वस्त तुल्याए ।

संसदमा भएको कांग्रेसको उपस्थिति न्यून भएकाले सरकार गठनको पहल गर्न नसकेको भन्दै यथार्थ बुझ्न पनि उनले आग्रह गरे । तर कांग्रेसले पहल नै गरेन भन्ने गरेकाले शुक्रबार तीन दलको बैठक बोलाएको उल्लेख गर्दै उनले सरकार गठनको निकास ननिस्किए चुनावमा जानुपर्ने भएकाले त्यसको तयारी गर्न पनि आग्रह गरेका छन् ।

उनले भने‚ ‘कांग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु । कुनै पनि किसिमको राष्ट्रिय एकता, अखण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानैपर्छ भोलि । चुनावमा जानैपर्ने बाध्यता हुन सक्छ । चुनावमा जनताको मन जितेर हामीले सरकार बनाउनुपर्छ । जनताले बिर्सिसके ।’

प्रधानमन्त्री ओलीले राज्यसत्तालाई भ्रातृसंगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यसविरुद्ध एकजुट हुन सभापति देउवाले आह्वानसमेत गरेका छन् ।

उनले भने‚ ‘ओलीले सत्ता कब्जा गर्ने कोशिस गरेको छ । उसले चाहेर कब्जा हुँदैन । त्यसैले भोलिको दिनमा एक भएर लाग्नुपर्छ ।’

प्रतिक्रिया