ठिटो इन्जिनियरको ‘ठेट्नो मकैघर’

नेपाली समाजमा राम्रो पढ्ने मान्छे डाक्टर वा इन्जिनियर नै बन्नुपर्छ भन्ने मानसिकता हाबी छ । पाल्पाका २८ वर्षीय विपीन कँडेल पनि त्यही मानसिकताबाट अछुत रहन सकेनन् । पढाइमा अब्बल रहेका विपीनले पुल्चोक इन्जिनियरिङ कलेजमा मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तरसम्म पढे ।

पेशाले इन्जिनियर रहेका विपीन व्यवसायमा झन् सफल छन् । उनको सफलताको उदाहरण हो ‘ठेट्नो मकैघर’ । फूल नउठ्ने मकैलाई ठेट्नो मकै भनिन्छ । मकैको एउटा परिकारको नामबाट नै मकैघरको नाम जुर्‍यो- ठेट्नो मकैघर ।

‘ठेट्नो मकैघर’ विपीनको कुनै दीर्घकालीन योजनाले जन्मिएको भने होइन । विपीनले काठमाडौं, भक्तपुर र ललितपुरलगायतका सहरमा खुल्ला आकाशमुनी मकै पोलिरहेको दृश्य धेरै देखेका थिए । एकदिन आफ्नो कार्यालयको छेउमा चिया पिइरहेका बेला एकजना महिलाले बडो दुःखसँग मकै पोलिरहेको दृश्य उनको आँखामा पर्‍यो ।

घाममा बसेर आगोमा हम्किँदै मकै पोल्नु कम सास्ती लागेन विपीनलाई । उनले त्यसरी पोलेको मकै कयौँ पटक चाखेका छन् । उनलाई बाटोको छेउमा धुँवा र धुलोबीच मकै पोलेको देख्दा यो काम साह्रै दुःखदायी र झन्झटिलो छ भन्ने लाग्थ्यो ।

स्वास्थ्यमा समेत असर पुर्‍याउने धुँवाधुलोबाट बच्नेगरी मकै पोल्ने प्रविधि विकास गर्न सकिन्थ्यो कि भन्ने सोच विपीनको दिमागमा आयो ।

No description available.

त्यसपछि उनले पहिले नै त्यस्तो कुनै आधुनिक प्रविधि विकास भइसकेको छ/छैन भनेर इन्टरनेटमा खोजी गरे । तर कतै फेला पार्न सकेनन् । त्यसपछि विपीनलाई मकै पोल्ने आधुनिक मेसिन बनाउने आइडिया फुर्‍यो । यस विषयमा उनले आफ्ना मेकानिकल इन्जिनियरिङका साथीहरुसँग सल्लाह गरे । विपीनका साथीलाई पनि उनको आइडिया मन पर्‍यो । साथीहरुको साथ र हौसलाले विपीनले मकै पोल्ने मेसिन बनाउने निर्णय गरे ।

विपीनले मकै पोल्ने आधुनिक मेसिन बनाउन थाले । पहिले कसैले निर्माण नगरेकाले पनि विपीनलाई मेसिन डिजाइनमा केही हदसम्म अफ्ठ्यारो पर्‍यो । पटकपटक प्रयास गरेपछि ६ महिनामा विपीनले एउटा मकै पोल्ने मेसिन तयार पारे । मकै पोल्ने मेसिन निर्माण गर्ने पहिलो व्यक्ति हुन् विपीन कँडेल । मेसिन तयार भइसक्दा १ लाख ५० हजार रुपैयाँ लगानी भयो । उनले बनाएको मेसिनमा एक पटकमा १० ओटा मकै पोल्न मिल्छ । मेसिनमा दैनिक दुई हजार मकै पोल्न मिल्ने बताउँछन् विपीन ।

उनी भन्छन्, ‘मेसिन विद्युतबाट चल्छ । कोइला सल्काएर विद्युतबाट हावा दिई मकै पोल्न सकिन्छ । यसबाट कुनै प्रदूषण पनि हुँदैन ।’

No description available.

विपीनले मेसिन प्रयोग गरिहेरे । त्यो एकदम राम्रोसँग मकै पोल्ने गरी तयार भयो । त्यसबाट धुवा र खरानीको धुलो आउँदैनथ्यो । आफूले बनाएको मेसिन कसलाई बेच्नु ? फेरि मेसिनको लागत पनि धेरै भयो । अनि मेसिन ठूलो भएकाले त्यसलाई राख्नका लागि ठूलै ठाउँको आवश्यकता पर्ने भयो ।

त्यसैले उनले त्यो मेसिन अरुलाई बेच्नुभन्दा आफैँ प्रयोग गरी व्यवसाय सञ्चालन गर्ने निर्णय गरे । अनि नयाँ बानेश्वरको संगम चोकमा विपीनले खोले- ठेट्नो मकैघर । २०७६ जेठ २३ गतेबाट सञ्चालन गरिएको मकैघर सुरुमा ८ लाख रुपैयाँ लागतमा बनाइएको थियो । तामझामसँग नसजाइएको भएपनि सानो सटरमा खोलिएको मकैघरमा पारिवारिक वातावरणको भने अनुभूति गर्न सकिन्छ ।

मकैघरमा उनले पोलेको मात्र नभएर हरियो मकैका सबै परिकारहरू पस्किने जमर्को गरे । विपीन भन्छन्, ‘पोलेको हरियो मकै मकै पारखीहरूको पहिलो रोजाइमा पर्छ । त्यस्तै हरियो मकैबाट बन्ने अरू परिकार पनि धेरैले मन पराउछन् । पोलेको मकै होस् वा उसिनेको मकै, मानिसहरू नुन खुर्सानी लगाएर जिब्रो फड्कारी–फड्कारी खान रुचाउँछन् ।

त्यसैले मैले पोलेको मकैसहित अन्य मकैको परिकाहरू पनि मकैघरमा समेट्ने प्रयास गरेँ । सेफसँगको सहयोगमा एउटा मेनु तयार गरेँ । जसमा मकै मःम, मकै कबाब, मकै चटपटे, मकै सलाद, मकै साँधेको, मकै चिप्स, मकै पकौडा, मकै सुप, मकै फ्राई, मकै रोस्ट, मकै खिर, मकै रोटी र भुटेको मकै समावेश गरेँ । यो सबै परिकार बनाउने जनशक्ति पनि तयार गरेँ । ठेट्नोका यी परिकार चाख्ने सबैले सकारात्मक प्रतिक्रिया दिनुभयो । हामीलाई थप हौसला मिल्यो ।’

यस्तै हौसलाले अब उनी यसलाई इन्टरनेटको माध्यमबाट संसारभर फैलाउन चाहन्छन् । त्यसैले विपीन अब अनलाइनबाट विभिन्न परिकारको अर्डर लिएर होम डेलिभरीको सुविधासमेत प्रदान गर्ने सोचमा छन् ।

ठेट्नोको सफलताकै कारण विपीनलाई यसको शाखा विस्तार गर्ने हिम्मत जुट्यो । उनले शंखमूलमा ठेट्नो मकैघरको शाखा खोले । विपीनलाई सुरुमा वर्षैभरी हरियो मकै व्यवस्था गर्न गाह्रो हुन्छ की भन्ने लागेको थियो । तर पछि उनले नेपालभरी नै मकै उत्पादन हुने थाहा पाए । आयातमा असहजता होला भनेर मकै आयात गर्ने व्यापारीसँग सल्लाह गरे । विपीनले आयातमा समस्या नदेखेपछि आफ्नै देशमा उत्पादित मकैमात्र ल्याउने योजना बनाए ।

No description available.

विपीनको योजनाअनुरुप नै ठेट्नो मकैघरले देशमा नै उत्पादित मकैबाट मात्र परिकार बनाउँदै आएको छ । उनी मकैको सिजनमा भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकजस्तै पहाडी जिल्लाबाट मकै आयात गर्ने र अफ सिजनमा तराईका जिल्लाबाट मकै ल्याउने गरेको बताउँछन् । ठेट्नो मकैघरले मौलिकतासमेत झल्काउने उनी बताउँछन् । प्रायः काठमाडौंका ठूल्ठूला रेस्टुरेन्टको मेनुमा दही-मोही राखिएको हुँदैन । तर ठेट्नो मकैघरमा भने मकैका परिकारसँग मोही र दही खाने व्यवस्थासमेत गरिएको छ । ठेट्नो मकैघरले मासिक औसत ४० हजार रुपैयाँसम्म नाफा कामइरहेको थियो ।

तर परिस्थिति सधैं कहा आफूअनुकूल हुन्छ र ? ठेट्नोको सुरुवाती समयमा नै कोभिड-१९ संक्रमण फैलियो । तुलनात्मक रुपमा यसको प्रत्यक्ष मार अरु तमाम मान्छेले झैँ ठेट्नोले पनि खेप्नुपर्‍यो । केही नयाँ सुरु गर्ने जोसले खोलिएको ठेट्नोलाई कोरोना महामारीले थला पार्‍यो । ग्राहकहरू आउनै छाडे । विपीन भन्छन्, ‘त्यसै पनि व्यवसाय भनेकै जोखिमको अर्को नाम हो ।

सबै क्षेत्र कारोनाको मारमा थियो । यसले हाम्रो व्यवसायमा पनि ठूलै भुइँचालो ल्यायो ।’ विपीनले ठेट्नो मकैघरबाट प्रत्यक्ष रुपमा ६ जनालाई रोजगारी दिएका थिए । कोरोना महामारीका कारण उनीहरूलाई पारिश्रमिक दिन पनि हम्मे हम्मे पर्‍यो । सटर भाडा बुझाउन पनि त्यस्तै धौ–धौ भयो ।

परिणाम स्वरुप विपीनले ठेट्नो मकै घरको शंखमूल शाखा बन्द गर्नुपर्‍यो । धेरै समयसम्म कोरोना महामारीले अस्तव्यस्त बनाएको ‘ठेट्नो मकैघर’ले अहिले भने लय लिन थालेको छ । लकडाउन खुलेपछि बिस्तारै ठेट्नो पनि माथि उठ्दैछ । विपीनले ४ महिनाअघि काठमाडौं सिभिल मल र भैरहवामा ठेट्नो मकै घरको शाखा विस्तार गरेका छन् । काठमाडौं भ्याली र भ्यालीबाहिर गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा झण्डै १० जनालाई रोजगारी दिएका छन् ।

उनले ठेट्नो मकैघरलाई ब्राण्डको रुपमा विकास गर्ने योजना बनाएका छन् । काठमाडौंलगायत देशका विभिन्न भागमा ठेट्नोको शाखा विस्तार गर्ने सोचमा छन्, विपीन । उनले ठेट्नो मकैघरको परिकारलाई जुनसुकै ठाउँको स्थानीय परिकारसँग फ्युजन गरेर सञ्चालन गर्ने लक्ष्य राखेका छन् । त्यसो गर्दा खानेकुराको मौलिकता पनि नहराउने र रैथाने खानाको संरक्षण गर्न सकिने भन्दै विपीनले त्यो खाकामा काम गर्न लागेका हुन् ।

विपीन देशको अर्ग्यानिक उत्पादनलाई प्राथमिकता दिने भन्दै देशभरी कुन स्थानमा कस्तो मल र रसायन मकैखेतीमा प्रयोग भइरहेको छ भन्नेबारे पनि खोज गरिरहेका छन् । भविष्यमा हाँडीमा भुटेको मकै, ढुङ्गामा पकाएको रोटीजस्ता खानेकुरालाई ठेट्नोले समेट्ने विपीनको उद्देश्य छ ।

विपीन मकै स्वास्थ्यको लागि धेरै फाइदा पुर्‍याउने अन्न भएकाले मकैको परिकार खान र ठेट्नो मकैघरमा मकैको परिकारसँग मज्जा लिन अनुरोध गर्छन् ।

प्रतिक्रिया