पत्रकार चुनाव : लक्ष्य महासंघ सुधार्ने‚ देखिएन आफैंमा सुधार

  • दिक्षा कट्टेल

काठमाडौं । ठूलै तामझामका साथ नेपाल पत्रकार महासंघको चुनाव सकियो । चुनावमा उठेका उम्मेदवारहरूको चहलपहल त यसै पनि हुने नै भयो । महासंघ सदस्यहरूको फोनमा बारम्बार आउने म्यासेज र फोन यसका प्रमाण थिए ।

‘समाचार लेख्ने’ पत्रकार आफ्नो मुख्य काम नै थाती राखेर चुनावको प्रचारमा व्यस्त थिए । गुट‚ उपगुटदेखि प्रत्यक्ष राजनीतिक प्रभाव यत्रतत्र देखिएको थियो ।

मतदान केन्द्रमा पुगेर मत खसाल्न लाइनमा बसेका पत्रकारको हातमा परिचयपत्र नै छोपिनेगरी उम्मेदवारका पर्चा थिए । ‘दिन्छन्, समाउनै पर्‍यो‚’ एक मतदाताले भने, ‘एकै व्यक्ति पटक पटक आएर पर्चा र कार्ड दिएर गए । के गर्ने यो कागजको बिटो ?’

अर्का एक पत्रकार निकै हतारमा देखिन्थे । उनी कार्यालयबाट पटकपटक फोन आएको गुनासो गर्दै लाइन बस्दै थिए । धेरै आत्तिएका उनले एक उम्मेदवारलाई ‘म अफिस जाऊँ की मेरो पालो छिटो आउँछ ?’ भन्दै थिए । जरुरी त आज नियमभन्दा पनि ‘एक भोट’ देखियो । ती उम्मेदवार छेउ लाग्दै गए र भित्र ‘सेटिंग’ मिलाए । लाइन नै नबसी भोट दिने माहौल बनाएर फर्किए ।

भोट दिन आएका धेरै पत्रकार अलमल्ल देखिन्थे । दिमागमा पहिला नै नाम सेट गरेर आएका व्यक्तिहरूलाई समेत बिथोल्ने माहौल सिर्जना हुँदै थियो । झ्याप्पै अँगालो मारेर ‘फलानोलाई है’ भन्नेदेखि कुनातिर तानेर ‘भोलि मान्छे चाहिन्छ होला नि !’ भन्नेसमेतका भावनात्मक अत्याचारको शृङ्खला दिनैभर चलिरह्यो ।

भीड हेर्दा कोरोना संक्रमण सुरु नै नभएको जस्तो भान गराउँथ्यो ।

सामाजिक दुरी कायम त टाढाको कुरा मास्क लगाउनसम्म पनि कन्जुस्याईं गरिरहेका थिए मानिसहरू । सरकारले ‘भीड नगर्नू‚ स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनू’ भनेर विज्ञप्ति जारी गर्दा ‘पहिलो हुने’ होडमा समाचार लेख्ने पत्रकारको आज देखिएको भीड कता कता असहज लाग्ने थियो ।

एकदिने माहौल बनाउन हातमा कागजको मुठो लिएर बसेका मतदाता नामावलीमा नामसमेत नभएकाहरूको दुनियाँ पनि छुट्टै थियो । उनीहरू पत्रकारलाई जिताउनका लागि भरमग्दुर प्रयास गरिरहेका  थिए ।

मतदान सकिएपछि मतदाता र उम्मेदवारका साथै उनीहरूलाई सहयोग गर्दै कागजका मुठा बाँड्दै हिँडेकाहरू घर फर्किए । छुट्यो त केवल फोहर कागजको डंगुर !

जनतालाई सुसूचित पार्ने पेसामा रहेका केही पत्रकार, आज दिनभरी भने सभ्य देखिएनन् । लिनासाथ भुईँमा पर्चा फ्याँक्ने मतदातादेखि आफैँले बाढेको पर्चा असरल्ल छाडेर व्यक्तिहरूमा न सभ्यता देखियो न त संस्कार नै ।

महासंघमा रहेर पत्रकार र पत्रकारिताको पक्ष लिन र यसभित्र रहेका कुरीतिलाई सफा बनाउनका लागि महासंघ जान लागेकाहरुले नै सामान्य कुरामा वास्ता नपुर्‍याइदिँदा आगामी दिनमा उनीहरूप्रति अरुले के आश गर्ने ?

प्रतिक्रिया