यसरी तय भयो चलचित्र ‘श्री’ को हलसम्मको यात्रा

  • दिक्षा कट्टेल

काठमाडौँ । एकवर्ष अघिको यही समय । नेपालमा सम्पूर्ण गतिविधि ठप्प । सुनसान सडक । विश्व नै टक्क अडिएको जस्ताे । कमाइ नहुने, सञ्चित अन्न नहुनेहरूको व्यथा त छँदैछ । हातभरी पैसा भएका व्यक्तिले समेत किनेर खाने माहौल थिएन ।

चलचित्रकर्मीदेखि सर्वसाधारण नागरिक सबै अरुलाई बचाउने भन्दा पनि आफू बाँच्ने वातावरण खाेजिरहेका थिए । त्यतिबेला निर्देशक एभरेष्ट सूर्य बोहरा भने राहत वितरणका लागी आफ्नो तर्फबाट पहल थाल्दै थिए । आफ्नै क्षेत्रका अप्ठ्यारोमा परेका व्यक्तिहरूलाई उनी र उनको समूह मिलेर सहयोग गरिनै रहेको थियो । मानिसहरूको नाजुक स्थितिले कताकता बोहराको मन छोयो । फेरी सहयोग रकम लिएर प्राविधिकको घर सम्म पुग्दै गर्दा ‘बरु मलाई काम दिनुस्’ भन्ने विषयले अझ मन कुँड्यायो ।

बोहरालाई यो विषयले पिरोलेको लामै समय भएको थियो । के गर्ने भन्ने सोचिरहँदा उनले चलचित्र लेखनमा राम्रो दख्खल भएका शिवम अधिकारीलाई सम्झिए । फोन गरे र भने, ‘यो समयमा केही त गर्नुपर्‍यो !’

शिवमले सहयाेगी काममा हातेमालाे गर्ने निर्णय गरे र यही विषम परिस्थितिलाई नै चलचित्रको विषय किन नबनाउने भन्ने सल्लाह भयो दुवैकाे । शिवमले २४ घण्टा निरन्तर लेखेर चलचित्रको कथा तयार पारे । सम्पूर्ण तयारी सक्न भने उनलाई करिब एक हप्ता लाग्यो ।

चलचित्र निर्माणका लागि सबिता गुरुङ तयार थिइन् । यसैपनि प्राविधिकहरूलाई सहयोग गर्दै आएकी उनले काम नै दिएर सहयोग गर्न पाउँदा मिल्ने सन्तुष्टिको अनुभूत गर्ने चाह राखिन् । उनले चलचित्र निर्माणमा हिम्मत दिइन् । २० लाखमा छायाङ्कन सकिएको ‘श्री’ चलचित्र सानो बजेटको भएपनि विषम परिस्थितिमा बनाइएको भिन्न चलचित्र भएको कारण दर्शकलाई हेर्न उनले आग्रह समेत गरेकी छन् ।

हाँस्य कलाकारको रूपमा परिचित सन्दीप क्षेत्री यो चलचित्रको मुख्य भूमिकामा देखिएका छन् । उनी आफैँ भने आफूलाई नायक भन्न मन पराउँदैनन् । साे चलचित्रको नायक ‘भोला राज सापकोटा’ हुन् भन्न रुचाउँछन् सन्दीप । सन्दीपको लागि यो चलचित्र विशेष छ । उनले आफू हाँस्य कलाकार नभएर कलाकार भएको प्रमाणित गर्ने ठुलो अवसरको रूपमा ‘श्री’ लाई लिएका छन् । छोरीलाई सम्झिँदै उनी भन्छन्, ‘कुनै दिन छोरी हेर तिम्राे बाबुको काम भन्न लायक चलचित्र हो ‘‘श्री’’ ।’

कलाकार भोला राज सिवाकोटीले जीवन, मृत्यु र विवाहको उदाहरण दिँदै चलचित्रको कथालाई केही हदसम्म खुलाएका छन् । गाली र तालीको लागि भने उनले सम्पूर्णलाई चलचित्र हेर्न आग्रह गरे ।

चलचित्रका सहायक निर्देशक सुदिप कुँवरले यो चलचित्र ७२ घण्टामा खिचेको सम्झिए । जब बोहराले चलचित्र बनाउने कुरा गरे कुँवर पाल्पामा थिए । सुरुमा त उनलाई विश्वास नै लागेन ।

तर निरन्तर बोहराको फोन आएपछि भने उनी रातारात पाल्पाबाट काठमाडौँ फर्किए । दिन गन्तीको हिसाबले करिब एकसाता लागेपनि छायाङ्कन जम्मा ७२ घण्टामा सकिएको यो चलचित्रलाई कुँवरले विशेष रूपमा लिएका छन् ।

२७ गते प्रदर्शन हुने भनिएका ३ चलचित्र मध्ये २ चलचित्र वितरणको जिम्मा पाएको जिजीए ग्रुप कोरोनाको बढ्दो सङ्क्रमणका कारण चिन्तित थियो । उक्त दिन प्रदर्शन हुने सबै चलचित्र रोकिए । यही समय करण श्रेष्ठ र उनको समूहले ‘श्री’ को विषयमा जानकारी पायो । उनीहरूले चलचित्र वितरण गर्ने जिम्मा लिए । रातारात पोस्टर बन्यो र प्रचार पनि सुरु भयो ।

यता निर्माता पनि ओटीटी प्ल्याटफर्ममा जाने सोचिरहेका थिए । हलमा नै लाग्ने अवसर पाउँदा पछि सर्ने कुरै भएन । र अन्ततः चलचित्र ‘श्री’ देशभर खुलेका हलहरूमा प्रदर्शनमा आउने पक्का भएको छ ।

चलचित्र गोर्खे फागुन १२ गते प्रदर्शनमा आएको थियो । यो चलचित्र प्रदर्शन पश्चात् पनि अन्य निर्माताले अन्य चलचित्र लगाउने हिम्मत गर्न सकेनन् । यही बिच सविता गुरुङले हिम्मत गरेकी छन् । चलचित्र क्षेत्र चलायमान बनाउन पचास प्रतिशत दर्शकलाई राखेर पनि प्रदर्शनमा ल्याउन उनले खेलेकाे भूमिका एवम् उनकाे हिम्मतकाे प्रशंसा गर्नैपर्छ !

प्रतिक्रिया