यु डायमन्ड र पुलिस आरबीबी एनभीए कपकाे फाइनलमा

काठमाडौं । विभागीय नेपाल एपीएफ क्लबलाई पराजित गर्दै न्यु डायमन्ड स्पोर्टस् क्लब पाँचौ संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा उपाधिको दाबेदार एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमन्ड फाइनलमा पुगेको हो। पहिलो सेटमा डायमन्ड २५–२१ ले विजयी भएको थियो। दोस्रो सेटमा २६–२४ को जित निकाल्न सफल भएको न्यु डायमन्डले तेस्रो सेटमा भने कमजोर प्रदर्शन गर्दै १४–२५ ले सेट गुमाएको थियो। चौथो सेटमा भने एपीएफलाई न्यु डायमन्डले २५–२१ ले पराजित गर्दै ३–१ ले सेट जितेको हो।

न्यु डायमन्डले ५ खेलबाट १३ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको पुलिसले ५ खेलबाट ११ अंक बनाएको छ।

विभागीय नेपाल पुलिस क्लब पनि महिलातर्फको फाइनलमा प्रवेश गरेको छ। लिग चरणको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । अब पुलिसले उपाधिका नेपाल एपिएफ क्लब र होङ्गान्जी न्यु डायमन्ड स्पोट्र्स क्लबको विजेतासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । खेलमा पुलिसले २६–२४, २५–१७ र २८–२६ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।

प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ। लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ पाउने छन्। दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् ।

प्रतिक्रिया