‘घिन्ताङ’ मा नायिका परिवर्तनको शृङ्खला

काठमाडौँ । चलचित्र ‘घिन्ताङ’ मा पुनः नायिका परिवर्तन भएकी छन् ।

चलचित्रका लागि निर्माता तथा निर्देशक दीपक श्रेष्ठले एलिजा गौतमलाई पहिलो पटक अनुबन्धित गरेका थिए । बाबु बिरामी भएको कारण देखाउँदै एलिजाले चलचित्रबाट हात झिकेपछि लक्ष्मी बर्देवा चलचित्रका लागि अनुबन्धित भइन् । तर उनले पनि अहिले श्रेष्ठको साथ छोडेकी छन् । यस चलचित्रका लागि अब भने केकी अधिकारी अनुबन्धित भएकी छिन् ।

लक्ष्मी बर्देवाको चलचित्र ‘अनन्त’ छायाङ्कनको क्रममा रहेको छ । घिन्ताङ छायाङ्कन सुरु गर्नै लाग्दा निर्देशक श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको कारण सेड्युल पछि सर्‍यो ।

अब श्रेष्ठ छायाङ्कनका लागि पूर्ण रूपमा तयार हुँदा बर्देवाले चलचित्र छोडेकी हुन् । लक्ष्मीले पूर्व घोषित समयमा छायाङ्कन सुर हुन नसकेको कारण चलचित्र छोडेको जानकारी दिएकी छिन् ।

चलचित्रमा अभिनेताका रुपमा भने गौरव पहारी अनुबन्धित भइसकेका छन् । सात वर्षपछि छायाङ्कनमा फर्किएका श्रेष्ठलाई महिला कलाकारबाट पटक पटक धोका भइरहँदा अभिनेताले भने साथ छाेडेका छैनन् ।

एकल महिला र पुरुषबीचको अन्तरजातीय प्रेम सम्बन्धको कथा पेस गर्ने चलचित्रमा नीर शाह र मदनकृष्ण श्रेष्ठको पनि विशेष भूमिका रहनेछ । साहित्यकार मन्दिरा ‘मधुश्री’ ले लेखेको ‘मासुको मूल्य’ कथामा निर्माण हुन लागेको चलचित्रको छायाङ्कन काठमाडौँ र चित्लाङ आसपासमा हुनेछ । चलचित्रको प्रस्तुतकर्ता राज लामा रहेका छन् ।

प्रतिक्रिया