केही दिन प्लास्टिक र फोहोर जलाउने काम नगर्नुहोस् : वातावरण विभाग

काठमाडौं । पछिल्लो हप्तादेखि काठमाडौं उपत्यकालगायतका देशका विभिन्न भागमा वातावरण प्रदूषण उच्च भएको छ ।

गएको हप्ता शिक्षा मन्त्रालयले ४ दिन विद्यालय नै बन्द गरेको थियो । प्रदूषणले राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडानसमेत प्रभावित भएको थियो । करिब दुई साता बित्नै लाग्दा पनि प्रदूषण कम भएको छैन । स्वास्थ्य मन्त्रालयले अत्यधिक धुवा निस्कने सवारीसाधन नचलाउन, मर्निङ वाक नगर्न सुझाव दिएको छ ।

वातावरण विभागले पनि सर्वसाधारणलाई यही समयमा फोहोर तथा प्लास्टिकजन्य पदार्थ नजलाउन आग्रह गरेको छ ।

वातावरण विभागले प्रदूषण नियन्त्रण गर्न कार्य योजनासमेत बनाएको थियो । तर कार्ययोजना प्रभावकारी नहुँदा विभागले केही गर्न नसकेको बताउछन्‚ वातावरण विभागका उपमहानिर्देशक इन्दु विक्रम जोशी ।

जोशीले काठमाडौं अतिप्रदूषण हुने सहरमध्ये कति नम्बरमा आयो भन्दा पनि हाम्रा लागि यो प्रदूषण कति घातक भन्नेबारे सचेत हुनुपर्ने बताए । अहिलेको प्रदूषणको कारण देशभरीको जंगलमा लागेको डढेलो बताउदै जोशीले सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

वृद्धवृद्धा र बालबालिकालाई मष्तिस्क घात र हृदयघातसम्म हुनसक्ने ग्यास र रसायनहरू अहिलेको प्रदूषित हावामा रहेको समेत जोशीले जानकारी दिएका छन् । बाहिर हिँड्डुल गरिसकेपछि दिनमा ५ पटक भन्दा बढी आफ्नो अनुहार सफा पानीले धुने सुझाव दिन्छन् इन्दु विक्रम जोशी ।

उनी भन्छन्, ‘अहिलेको हावामा रहेको विषाक्त तत्वहरू पानीले पखाल्दा नियन्त्रण हुने खालको छ । त्यसैले मुख धोइराख्नुहोस् आँखा र नाक पोल्ने समस्या केही हदसम्म समाधान हुन्छ ।’ जोशीले पर्याप्त पानी पर्नासाथ प्रदूषण कम हुने बताएका छन् ।

राम्रो मौसम कुर्नुबाहेक विभागले अरु केही गर्न नसक्नेसमेत जोशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया