मलाई बमले उडाउन खोज्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बम हानेर उडाउन खोज्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका छन् ।

मंगलबार रूकुम पश्चिममा भएको जनप्रशिक्षण कार्यक्रममा पुगेका प्रचण्डले आफू पुन: जनताको काखमा आइपुगेको बताउँदै आफूलाई दु:खमा बचाउने नेता तथा कार्यकर्ता पछि परेकोमा आत्मआलोचनासमेत गरेका छन् ।

‘म आत्मआलोचना गर्न आएको हुँ। मलाई दु:खमा बचाउने र सहयोग गर्ने तथा अप्ठरो पर्दा प्रचण्ड भन्नेहरू ओझेलमा परेका छन् । जाली, फटाहले भाउ पाएजस्तो भयो,’ उनले भने‚ ‘पार्टी विभाजन गरेर जानेलाई माथिल्लो तह जिम्मा दिएँ । मलाई गद्दार भन्नेहरू र ०७० सालको चुनावमा ममाथि बम प्रहार गर्ने साथीहरूलाई गृहमन्त्री बनाएँ । मैले गल्ती गरें । उनीहरू बिकाउ माल सावित भए ।’

उनले पार्टी छाडेर गएका र पुन: फर्केकाहरूलाई आफूले माथिल्लो तहमा जिम्मेवारी दिनु गल्ती भएको बताउँदै इमान्दार कार्यकर्तालाई अब पार्टीमा अगाडि बढाइनेसमेत उल्लेख गरे ।

‘इमान्दार कार्यकर्तालाई पार्टी, नियुक्तिहरू र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा मैले गल्ती गरेँ । शहीद परिवार ओझेलमा परेजस्तो भयो भने जनयुद्धमा त्याग गर्नेहरू पनि ओझेलमा परे । अब म त्यस्तो गर्दिनँ । हिजो युद्धमा लागेकालाई अगाडि बढाउने संकल्प गर्छु,’ उनले भने ।

प्रतिक्रिया