नागरिकतासम्बन्धी विधेयक संसदमै अड्किएको छ : शशि श्रेष्ठ

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले नागरिकतासम्बन्धी विधेयकलाई संसदबाट पास गराउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभापति श्रेष्ठले आफ्नो समितिबाट पास भएर प्रतिनिधिसभाको बैठकमा पेस भएको नागरिकतासम्बन्धी विधेयक संसदमा नै अड्किएकोमा गम्भीर ध्यानाकर्षण जनाएकी हुन् । नागरिकता राज्य र व्यक्तिबीचको महत्वपूर्ण सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण आधारभूत दस्तावेज भएको भन्दै उनले नागरिकताको अभावमा कयौं युवाहरु शिक्षा स्वास्थ्यजस्ता मौलिक हकबाट वञ्चित हुनुका साथै बेरोजगार बनेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

उनले कुनै पनि व्यक्तिको स्वतन्त्र अस्तित्वको पहिलो पहिचान नै नागरिकता भएको र त्यसैको आधारमा अन्य अधिकारहरू प्राप्त हुने भएकाले नागरिकलाई पहिचानको आधार नागरिकता प्रदान गर्नु राज्यको दायित्व भएको समेत बताइन् । नागरिकतासम्बन्धी विधेयक २०७७ साल असार ८ गते समितिबाट पारित भई ९ गते प्रतिनिधिसभामा पेश भएको स्मरण गर्दै उनले १० महिनासम्म पनि विधेयक पास हुन नसक्दा आफूलाई लाज लागेको उल्लेख गरिन् ।

उनले भनिन्‚ ‘यस विषयमा सरकार किन गम्भीर हुन सकिरहेको छैन ? म आफैँलाई पनि यी कुराहरु भनिराख्दा अत्यन्तै शरम लाग्छ कि यो विषय पनि पास गरेन भनेर उल्टै समितिलाई दोष लगाउने काम भएको छ । घामजत्तिकै छर्लङ्ग विषयलाई दिउँसै अध्याँरो पार्ने काम नहोस् भन्ने कुराको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले संसद चलाउन सरकारले बिजनेस नदिएको दाबी गरिन् । उनले प्रतिनिधिसभा पुनःस्थापनापछिको पहिलो बैठकमा अध्यादेशका सम्बन्धमा विमति भएको भएपनि त्यसपछि भने सरकारले नै संसद संञ्चालनमा सहयोग नगरेको बताइन् । थुप्रै विधेयकहरु माथिको छलफल चलाउनुपर्ने स्थिति रहेको उल्लेख गर्दे उनले संसद बिजनेसविहीन छ भनेर सरकारले के सन्देश दिन खोजेको भनी प्रश्नसमते गरेकी छन् ।

प्रतिक्रिया