अवैध उत्खनन गर्ने १३ सवारी साधन नियन्त्रणमा

तनहुँ । अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार ट्र्याक्टर र तीन टिपर नियन्त्रणमा लिएको हो ।

म्याग्दे गाउँपालिका–५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग १ क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ । उक्त सवारीलाई कारवाहीका लागि पठाइएकामा म्याग्दे गाउँपालिकाले २० हजार रुपैयाँ जरिवाना गरेको छ ।

व्यास नगरपालिका-७ गलमखोलास्थित सामुदायिक वनको निषेधित क्षेत्रमा अवैधरूपमा ढुङ्गा उत्खनन गर्दै गरेको अवस्थामा ना १ क ६२५२ नम्बरको एक्साभेटरसहित ग १ त ६०९८ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि पठाइएकामा व्यास नगरपालिकाले २० हजार रुपैयाँ जरिवाना गराएको छ ।

भीमाद नगरपालिका–५ एक्ले भन्ने ठाउँमा बिनाइजाजत गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा एक्साभेटरसहित बालुवा लोड गरेको ग १ त ४०६१ नम्बरको टिपरलाई नियन्त्रणमा लिइएको छ । त्यसैगरी शुक्लागण्डकी नगरपालिका–८ मा रहेको जमिनबाट बिनाइजाजत ढुङ्गा, माटो उत्खनन गरिरहेको अवस्थामा ग १ क ३४३५ नम्बरको एक्साभेटरसहित लोड गरिरहेका ग १ त ३१९०, ग १ त ३४२१ र ग १ त ३०७० नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि शुक्लागण्डकी पठाइएकामा ५६ हजार जरिवाना भएको छ ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ छहरा स्थितमा रहेको जमिनबाट बिनाइजाजत अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ग १ क ३७८८ नम्बरको एक्साभेटर र ग १ क ३१७५ नम्बरको जेसिभीसहित ग १ क ३२५२, ग १ क ३२५१ नम्बरको टिपरलाई नियन्त्रणमा लिई कारबाहीका लागि नगरपालिकामा बुझाइएको छ ।

  • रासस
प्रतिक्रिया