शुक्लागण्डकीका सबै वडा कार्यालय भाडामुक्त

काठमाडौं । जिल्लाको शुक्लागण्डकी नगरपालिका मातहतमा रहेका सबै वडा कार्यालय भाडामुक्त बनेका छन् । चालु आर्थिक वर्षमा एकै साथ तीन वडा भवन निर्माण सम्पन्न गरेपछि भाडामुक्त बनेको हो ।

चालु आर्थिक वर्षमा २, ५ र ७ वडाका भवन निर्माण गरिएको हो । गत वर्ष वडा नं ३, ४, ९, १० र ११ का वडा भवन निर्माण गरिएको थियो ।

बाह्रवटा बडा रहेकामध्ये वडा नं. १, ६, ८ र १२ साविकको गाविस भवन मर्मत सम्भार गरी सेवा प्रवाह गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिका-९ को नवनिर्मित वडा कार्यालय भवन सञ्चालनमा ल्याइएको छ । कूल ५१ लाख १३ हजार रुपैयाँको लागतमा तीन कोठा एक हलसहितको भवन निर्माण गरिएको हो ।

शुरुका वर्षदेखि प्रत्येक वडा भवन निर्माणका लागि भूगोल र जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्दै आएको नगरपालिकाका प्रमुख किसान गुरुङले बताए ।

त्यसैगरी व्यास नगरपालिका कार्यालय मातहतमा रहेका चौधवटा वडा कार्यालय भाडामुक्त बन्ने अन्तिम चरणमा छन् ।

ब्यास-१ स्थित चारकुनेमा वडा कार्यालय भवन निर्माण भइरहेकाले छिट्टै भाडामुक्त बन्ने अवस्थामा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्र भाडामुक्त अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी आँबुखैरेनी गाउँपालिका वडाको पनि आफ्नै भवन हुनेगरी ६ वटै वडाका भवन निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए ।

जिल्लाको बन्दिपुर, भानु, देवघाट, घिरिङ, ऋषिङ, भिमाद र म्याग्देलगायतका पालिका मातहतमा रहेका वडा तथा स्वास्थ्य केन्द्रको भवन निर्माण तीव्ररूपमा भइरहेको बताइएको छ ।

प्रतिक्रिया