लेखन विधामा थाकेँ, विकल्प खोज्नुस् : स्क्रिप्ट राइटर अधिकारी

काठमाडौँ । सामान्यतयाः लेखन विधालाई कठिन विधाकै रुपमा अर्थ्याइन्छ । तर, चलचित्र क्षेत्रमा भने यसलाई अन्य विधाभन्दा सजिलो रुपमा मात्रै लिइँदैन कि महत्व नै पनि कमै दिइन्छ ।

त्यसो त यो विषयमा बेलाबखत स्क्रिप्ट राइटरहरु बोल्दै नै आएका छन् । तर, उनीहरुले आफ्नो आवाजको सम्बोधन भएको भने खासै अनुभूति गर्न पाएका छैनन् । जुन, विषयलाई राइटरहरुले खासगरी सामाजिक सञ्जालमार्फत उठाउँदै आएका छन् ।

‘अझ ७ दिनमा दिनुस् न’, ‘यसो मिलाएर गर्नुस् न’लगायतका वाक्यांश प्रयोग गरेर स्क्रिप्ट राइटरलाई थप झुलाउने निर्माता निर्देशकहरुको सूची बनाउने हो भने पनि लामै बन्छ । एक गीत छायाङ्कनका लागि २० लाखसम्म खर्चिने निर्माताले एउटा लेखकलाई खुसी बनाएको सत्य चाहिँ कमै छ ।

यही असन्तुष्टिलाई करिब आधा दशकयता चलचित्रको स्क्रिप्ट तयार गर्दै आएका शिवम अधिकारीले फेसबूकमार्फत  छताछुल्ल पारेका छन् । करिब १५०० चलचित्र र दर्जनौँ टेलिशृङ्खलामा काम गरिसकेका अधिकारीले अब भने केही समय लेखन विधाबाट विश्राम लिने उल्लेख गरेका छन् । एकै हप्तामा लिएका २४ चलचित्र पूर्वनिर्धारित समयमा दिएको भन्दै अधिकारीले कामप्रतिको आफ्नो लगावलाई प्रष्ट पारेका छन् ।

आफू लेखन विधाबाट अलग्गिँदा स्रोता/दर्शकमा पर्ने असुविधाको सन्दर्भमा याचना गरेका अधिकारीले मानसिक रुपमा लेखन विधासँग दूरी बढाउने मनसाय बनाएको प्रष्ट्याएका छन् । उसो त शिवम एक प्रतिनिधि पात्र मात्रै हुन् । नेपाली चलचित्र जगतमा न त पहिला स्क्रिप्टलाई महत्त्वपूर्ण रूपमा लिएको थियो, न त अहिले नै छ ।

अतः शिवमको लेखन विधाको अनुपस्थितिले कति असर पार्छ त्यो स्रोता/दर्शकले भन्ने कुरा हो । तर, यो चाहिँ शाश्वत सत्य हो कि– लेखन पाटो दह्रो नभइ अन्य पाटो मात्रै मजबुत भएर हुनेवाला केही छैन ।

प्रतिक्रिया