चलचित्र ‘अनन्त’ मा स्क्रिन सेयर गर्दै कर्मा र लक्ष्मी

काठमाडौं – कर्मा र लक्ष्मी बर्देवाले पहिलो पटक स्क्रिन सेयर गर्ने भएका छन् । चलचित्र ‘अनन्त’ मा यी दुईले एकसाथ काम गर्न लागेका हुन् । शनिवार भक्तपुरमा चलचित्रको छायाङ्कन प्रारम्भ भएको छ ।

कर्माले भने, ‘म लक्ष्मीको थिएटरको समयदेखि कै प्रशंसक हुँ, तर पछिल्लो समय उहाँले म्युजिक भिडियो र चलचित्रमा पनि उत्तिकै राम्रो काम गरिरहनु भएको छ । यो चलचित्रमा सँगै काम गर्ने कुराले साँच्चिकै उत्साहित छु ।’

उता लक्ष्मीले पनि कर्मा सँग काम गर्ने कुरा आफ्नो लागि बोनस भएको बताउँछिन् ।

‘यो लकडाउनको समयमा मैले कम्तीमा दस वटा जति स्क्रिप्ट पढेँ । कति पैसामा कुरा नमिलेर गरिन, कति भूमिकामा । यसको कथा र टिम मन परेर गर्ने निर्णय गरेकी थिएँ । यही चलचित्रमा कर्मासँग काम गर्न पाउँदा बोनस पाएको अनुभव गरेकी छु,’ उनले भनिन्–‘ किनकि उहाँसँग काम गर्ने मेरो ठुलो रहर थियो ।’

टाइम ट्राभल लभ स्टोरी चलचित्र जेसन लोप्चनले निर्देशन गर्दै छन् । अस्कर फिल्म कलेजबाट स्नातक गरेका उनले केही लघु चलचित्र निर्देशन गरेका छन् ।

२० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा गएको चलचित्रको पटकथा जेसनले नै लेखेका हुन् । चलचित्र बबिन दुलालले खिच्दै छन् भने नव विजय श्रेष्ठले निर्माणको जिम्मा लिएका छन् । श्रेष्ठलाई निर्माणमा सह निर्माताको रूपमा रञ्जन ढुङ्गाना र शीतल खड्काले सघाउनेछन् भने तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माताको रूपमा रहनेछन् । रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसरको भूमिकामा रहेका छन् ।

जीवन अधिकारीको समेत अभिनय रहने चलचित्र काठमाडौँमा करण श्रेष्ठ र जीजीए ग्रुप मिलेर वितरण गर्नेछन् । चलचित्र किपालय प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो ।

प्रतिक्रिया