माओवादी केन्द्रले कहिले लिन्छ समर्थन फिर्ता ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो ।

केही साथीहरु उपत्यका बाहिर भएकाले बैठक स्थगित गर्नु परेको  नेता नारायणकाजी श्रेष्ठले बताए । बैठकअघि अरु राजनीतिक दलहरुसँग छलफल गर्न बैठक स्थगित गरिएको उनको भनाई छ ।

आजको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिने बुझिएको थियो । फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिएपनि सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ ।

बिहीबार बसेको स्थायी समिति बैठकपछि नेता श्रेष्ठले एकरदुई दिनमै अर्को बैठक बसेर ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थिए । उनले बिहान मकालु खबरसँगको कुराकानीमा भनेका थिए, ‘हामी सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल गर्दैछौं । समर्थन फिर्ता लिने/नलिने कुरा निर्णयपछि थाहा पाइहाल्नु हुन्छ नि ! अहिले यत्ति भनौं ।’

प्रतिक्रिया