ढिपुगाउँमा आगलागी हुँदा ३५ घर जलेर नष्ट

सिञ्जा । जुम्ला तिला गाउँपालिका-९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ ।

पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने लिने प्रयास भइरहेको उनले बताए । वडाध्यक्ष बोहोराले भने, ‘आगो नियन्त्रण बाहिर छ । निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन ।’

३५ घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ । आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ । आगलागीबाट क्षतिको यकिन विवरण आउन बाँकी छ । तिला-९ ढिपुगाउँ वर्षायाममा ६ महिना बस्ने बस्ती हो ।

यस समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपुगाउँमा बसेका छन् । मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो । वडाध्यक्ष बोहोराले भने, ‘स्याउला सङ्कलनका लागि एक-दुई दिनभित्र गाउँले नै त्यो बस्तीमा जाने भनेका थिए । आगोले बस्ती खरानी बनाइसक्यो ।’ उनले उद्धार र राहतका कार्यमा साथ दिन सबै सरोकारवालालाई आग्रह गरे ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आगलागी भएको खबर पाउनेबित्तिकै तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएको घटनास्थलतिर पठाइसकेको बताए ।

यसअघि तिला-७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएको थियो । यससँगै जुम्ला आगलागीको उच्च जोखिम क्षेत्र बनेको छ । रासस

प्रतिक्रिया