विशेष अभियान घोषणा गर्दै खनाल-नेपाल समूह

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले विशेष अभियान घोषणा गर्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परेलगत्तै यो समूहले आज ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ घोषणा गर्न लागेको हो ।

कलंकीस्थित एक बैंक्वेटमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले संगठन विस्तारको अभियानलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो । आज संगठन निर्माण र प्रशिक्षणको अभियान घोषणा हुने नेता योगेश भट्टराईले मकालु खबरलाई जानकारी दिए । ‘शुक्रबार कार्यक्रम प्रस्ताव भएको थियो,’ उनले भने, ‘आज राष्ट्रव्यापी संगठन निर्माण, प्रशिक्षण र अभियानको ढाँचालाई अन्तिम रुप दिन्छौं र पार्टीका तहमा वितरण गर्छौँ ।’

यो समूहले गरेको राजनीतिक प्रतिवेदनलाई पनि कार्यकर्तामाझ लैजाने नीति लिनुका साथै समानान्तर कमिटी विस्तारको कामलाई तीब्रता दिइरहेको छ । अध्यक्ष ओलीले नेपालसहित, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेका छन् । निलम्बनपछि खनाल-नेपाल समूह थप आक्रामक बन्दै रणनीति तय गर्नमा जुटेको हो ।

प्रतिक्रिया