सरकारको नेतृत्व लिन कांग्रेस अग्रसर, माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कमिटी बैठकले ओलीको राजीनामा माग्ने निर्णय गरेको हो ।

शुक्रबारको बैठकबाट प्रतिगामी कदम चालेका ओलीलाई सत्ताबाट हटाएर आफैं सरकारको नेतृत्व गर्ने निर्णय लिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘अब कांग्रेसले राजीनामा माग्ने निर्णय गरेको छ । कांग्रेसलाई यसअघि माओवादी प्रधानमन्त्री हुनुपर्छ भनेको थियो,’ उनले भने, ‘तर हाम्रा सभापति भने प्रधानमन्त्री हुने हतारोमा हुनुहुन्‍न । कांग्रेसले प्रधानमन्त्री बन्‍न हतारो नगर्ने भनेको थियो । तर अब हामीले राजीनामा मागिसकेपछि कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ ।’

पछिल्लो समय माओवादी केन्द्रले सत्तारूढ एमालेइतर दलहरू मिलेर सरकार गठन गर्नुपर्ने भन्दै कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग औपचारिक छलफल गर्ने निर्णय गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवा र जसपाका शीर्ष नेताहरूसँग पटकपटक भेटवार्ता गरेका छन् ।

दाहालले देउवालाई सरकारको नेतृत्व गर्ने गरी सत्ता समीकरण बनाउन पहलकदमी लिन पनि प्रस्ताव गरिसकेका छन् । देउवा भने ओलीको विकल्प खोज्नेबारे जसपाको निर्णयको पर्खाइमा थिए । अब कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया