निगमसँग सम्बन्धित नीतिगत समस्या समाधानका लागि सरकार लागिपरेको छ– मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरुलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् । शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगमसम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दापनि नीतिगत रुपमा समाधान गर्न सरकार लागिपरेको बताए ।

उनले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसेको जानकारी दिँदै थप छलफल गरी ल्याउने तयारी गरिरहेको बताए । व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टले बताए । कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको आफूले देखेको बताउँदै मन्त्री भट्टले विपरीत विचार हुनेहरुले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडी बढिरहेको भएपनि सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताए । निजी क्षेत्र नाफामुखी हुने र सोहीअनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको पनि बताए ।

तर सरकारले अनुगमनको नाममा उद्योगी व्यवसायीलाई पीडा दिने गरेको अध्यक्ष गोल्छाले बताए । अनुगमन गर्दा आचारसंहिताभित्र बसेर गर्न र कुनै न्यायिक निष्कर्ष ननिस्किएसम्म कुनैपनि उद्योगी व्यवसायीको मानमर्दन नगर्न सरकारसँग आग्रह गरे ।

कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरुले पेट्रोलिय पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकोले यसको वितरण प्रणालीलाई सहज बनाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया