धनुषामा २४ घण्टाभित्र दुई हत्या, अनुसन्धान जारी

काठमाडौं । धनुषामा २४ घण्टाको समयावधिमा दुई वटा हत्या भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती दुवै हत्या हुन् । जिल्लाको औरही गाउँपालिका–३ मा गत २४ घण्टाभित्र दुई हत्या भएको हो ।

धनुषाका एसपी प्रकाश रानाभाटले मकालु खबरलाई दिएको जानकारीअनुसार एक महिला र एक पुरुषको शव २४ घण्टाभित्र फेला परेको हो । ‘२४ घण्टामा दुई शव भेटियो,’ एसपी रानाभाटले भने, ‘दुवै शवको अवस्था हेर्दा शंकास्पद देखिन्छ । त्यो हत्या नै हो भनेर भन्न सकिन्छ । पुरुषको घाँटी थिचेर हत्या गरिएकोजस्तो देखिएको रिपोर्टिङ्ग भएको छ । जुन विषयमा अहिले अनुसन्धान जारी छ ।’

एसपी रानाभाटकाअनुसार जिल्लाको औरही गाउँपालिका–३, कपटौलका ४० वर्षीय विजय मण्डलको शव शुक्रबार बिहान झाडीमा देखिएको थियो । ‘आजै बिहान झाडीमा एक शव भेटियो,’ एसपी रानाभाटले भने, ‘एक जना महिलाको शव चाहिँ घरमा भेटिएको हो । अनुसन्धानका लागि उनका श्रीमान्लाई पक्राउ गरिएको छ ।’

मण्डलको शव घरभन्दा एक किलोमिटर पर औरही गाउँपालिका वडा नं. २ भराकटोल नजिक जमिनमुनि कुलोको किनारमा शव भेटिएको थियो । परिवारलाई उद्धृत गर्दै एसपी रानाभाटले भनेका छन्, ‘खेतमा चैते धान रोप्न गएका थिए । काम सकेर खेतबाट हिँडे पनि अबेर साँझसम्म घर नफर्किएपछि खोजी गरिएको थियो ।’

प्रतिक्रिया