खनाल-नेपाल समूहले बोलायो स्थायी कमिटी

काठमाडौँ । नेकपा (एमाले) झलनाथ खनाल, माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक बस्दैछ । बैठक कलंकीस्थित एक बैंक्वेटमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई कारबाही गर्न थालेपछि आफ्नो धारणा बनाउन बैठक बोलाइएको नेता झपट रावलले जानकारी दिए । आफ्नो समूहको उपस्थितिबिना नै विधान संशोधन, केन्द्रीय कमिटी विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल-नेपाल समूह देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा हो ।

यो समूहले बिहीबार मात्रै कास्कीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेता माधवकुमार नेपालसहित गएर त्यहाँ समानान्तर कमिटी गठन गरिएको हो । यो समूहले केन्द्रदेखि गाउँ तहसम्म कमिटी विस्तार गरेर अगाडि बढ्ने रणनीति बनाएको छ ।

अध्यक्ष ओलीले नेपालसहित, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेका छन् । उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन् । निलम्बनपछि खनाल-नेपाल समूह थप आक्रामक बन्दै रणनीति तय गर्नमा जुटेको हो ।

प्रतिक्रिया