विराजले लिए अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास

काठमाडौं । नेपाली फुटबलमा सफल दरिएका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन् ।

सोमबार दशरथ रंगशालामा बंगलादेशविरुद्ध थ्री नेसन्स कपको फाइनल खेल्दै उनी अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भएका हुन् ।

विराज फाइनल खेलमा खेलको ८९ औं मिनेटमा त्रिदेव गुरुङको स्थानमा मैदानमा प्रवेश गरेका थिए । उनलाई मैदानमा प्रवेश गर्ने बेला रोहित चन्दले किरण चेम्जोङले लगाई रहेको कप्तानको ब्यान्ड लगाइदिएका थिए । यो उनको १९ औं खेलमा कप्तानी हो । साथै राष्ट्रिय टिमबाट उनको यो ७३ औं खेल हो । उनले राष्ट्रिय टिमबाट २००९ मा भएको कीर्गिस्तानविरुद्धको एएफसी च्यालेन्ज खेलमा एक गोल गरेका थिए ।

थ्री नेसन्स कपको उपाधिसँगै विराजको बिदाइ सुखद भएको छ । खेलपछि खेलाडीहरुले उनलाई काँधमा बोकेर मैदान घुमाए । दर्शकहरुले ताली बजाउँदै उनलाई सम्मान गरे । मैदानमा निकै भावुक बनेका विराज निकै बेर दर्शकहरुको वरिपरि थिए । उनको बिदाइमा राष्ट्रिय टिमका अन्य खेलाडीले लगातार सम्मान स्वरुप हुटिङ गरिरहेका थिए ।

विराज एन्फा एकेडेमीको उत्पादक खेलाडी हुन् । २०५७ साल एन्फा एकेडेमीमा आएका उनको यहाँसम्मको यात्रामा उनकै संघर्षको कथा लुकेको छ ।

उमेर समूहमा एकपछि अर्को गर्दै राम्रो गरेपछि उनले राष्ट्रिय टिममा स्थान बनाए । घरेलु प्रतियोगिता र यू-१९ मा राम्रो प्रदर्शन गरेपछि विराज २०६४ मा पहिलो पटक राष्ट्रिय टिम परेका थिए । त्यहिँबाट उनको खेल जीवनले एउटा गति लियो ।

पाकिस्तानसँग पोखरा रंगशालामा भएको मैत्रीपूर्ण खेलका लागि उनीसँगै यू-१९ फुटबल टिमबाट किरण चेम्जोङ, भरत खवास, विकाससिंह क्षेत्री र दीपक भूषाल परेका थिए । पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलअन्तरले हारेको नेपालले भरत र विराज सुरुवाती एघारमा परेको खेलमा भने १–० गोलले जितेको थियो । त्यसैले विराज आफ्नो डेब्यु खेललाई सुखद् सुरुवात मान्छन् ।

त्यसपछि भने विराज राष्ट्रिय टिममा निरन्तर पर्दै आए । २०१५ मा भने अनिल गुरुङ टिममा नपर्दा उनले भारतविरुद्धको साफ च्याम्पियनसिप खेलमा कप्तानीको जिम्मेवारी नै सम्हाले । विराजको खेल करिअरमा सधै स्मरणीय रहने प्रतियोगिता भनेकै बंगबन्धु गोल्डकप, १२औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता र एएफसी सोलिडारिटी कप हो ।

विराजले भन्ने गरेका छन्, ‘आफ्नै कप्तानीमा बंगबन्धु, साग र सोलिडारिटी कपको उपाधि जित्दाको जस्तो क्षण अरु छैन ।’

नेपाली फुटबलमा विराजले कप्तान हुँदा जतिको उपाधि नेपालले अन्य कप्तान हुँदा जितेको छैन । म्याच फिक्सिङ प्रकरणमा तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दीप राईलगायतका खेलाडी र प्रशिक्षक तानिएर निकै आलोचित भएको नेपाली फुटबललाई उपाधि दिलाउँदै सबैको कर्णप्रीय बनेका कप्तान पनि विराज नै हुन् ।

प्रतिक्रिया