मह जोडीलाई ‘महामूर्ख’ उपाधि

जनकपुर । होलीको पूर्व सन्ध्यामा जनकपुरमा प्रत्येक वर्ष हुने महामूर्खको उपाधि हास्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई प्रदान गरिएको छ ।

आइतबार जानकी मन्दिरको प्राङ्गणमा मैथिली भाषा, कला र मनोरञ्जनको क्षेत्रमा काम गर्ने मिथिला नाट्य कला परिषद् (मिनाप) को आयोजनामा सम्पन्न सम्मेलन समारोहमा मह जोडीलाई उपाधि प्रदान गरिएको हो ।
महाजोडीले महामूर्खको उपाधिलाई आफूहरूको लागि अहिलेसम्मकै उत्कृष्ट सम्मान रहेको भन्दै यो सम्मान घरमा प्राथमिकताका साथ लगाउने प्रतिबद्धता जाहेर गरे । सम्मानित भएपछि महाजोडीले मिनापको यो सम्मानले देशमा तराई मधेस र हिमाल पहाडको सम्बन्ध झनै जोड्ने काम गरेको बताए ।

यस वर्षको मूर्ख शिरोमणिको उपाधि भने प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ ।

मन्त्री सोनलले मह जोडीलाई सम्मान गरेर मिनापले सार्थक र देशको एकता मजबुत पार्ने काम गरेको बताए ।
त्यसै गरी चित्रकार एससी सुमनलाई तरघुस्का, मैथली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पटमूर्खको उपाधि दिइएको छ ।

समाज र देशको लागि विभिन्न क्षेत्रमा रहेर राम्रो काम गर्ने गरेका चर्चित व्यक्तित्वहरूलाई मिनापले होलीको अवसरमा प्रत्येक वर्ष महामूर्ख सम्मेलनको आयोजना गरी व्यङ्ग्यात्मक शैलीमा सम्मान गर्ने गरेको छ ।

प्रतिक्रिया