तुवाँलो अझै कायम रहन सक्छ : मौसमविद्

काठमाडाैं । विगत केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्‍न भागमा एक्कासी देखिएको तुवाँलो अझै कायम रहने भएको छ। तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

उनका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो ।

तुवाँलो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्छ । ‘भोलि अपरान्हपछि पश्चिमी वायु सक्रिय हुने देखिएको छ,’ उनले भनिन् । यसले हावाको वेग बढ्नुका साथै फाटफुट वर्षाको सम्भावना देखिएकाले मौसम केही सफा हुने बताइएको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू-भागका एक,दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १०.८ डिग्री र अधिकतम तापक्रम २४.८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८.६ डिग्री र सबैभन्दा धेरै नेपालगञ्‍जको अधिकतम तापक्रम ३४.५ डिग्री सेल्सियस रहेको छ । –रासस

प्रतिक्रिया