फ्रान्स, जर्मनी, स्पेन, इटाली र इंग्ल्यान्डको जित

काठमाडौं । जर्मनी, इटाली र इंग्ल्यान्डले विश्वकपको युरोपियन छनोटमा लगातार दुई खेलमा जित निकालेका छन् । जर्मनीले रोमानियालाई, इटालीले बुल्गेरियालाई र इंग्ल्यान्डले अल्बानियालाई पराजित गरेका हुन् ।

समूह ‘जे’ मा रहेको जर्मनीले आफ्नो दुई खेलमा लगातार जित निकाल्ने क्रममा रोमानियालाई उसैको मैदानमा १-० गोलअन्तरले पराजित गर्न सफल भयो । जर्मनीका सर्ज जिनाब्रीले खेलको १६ औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । यो जितसँगै जर्मनीले दुई खेलबाट ६ अंक बनाएको छ ।यसै समूहमा भएको अर्को खेलमा अर्मेनियाले आइसल्यान्डलाई २-० गोलले हराउँदा नर्थ मासेडोनियाले लेच्टेस्टाइनलाई ५-० गोलले पराजित गरेको छ ।

समूह ‘सी’ को खेलमा इटालीले बुल्गेरियालाई २-० गोलले हराएको हो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको इटालीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो । यो जितसँगै इटालीले दुई खेलबाट ६ अंक बनाएको छ। यसै समूहमा भएको अर्को खेलमा स्वीट्जरल्यान्डले लिथुनियालाई १-० गोलले हराएको छ ।

समूह ‘आइ’ को खेलमा भने इंग्ल्यान्डले अल्बानियालाई २-० गोलले पराजित गरेको हो । इंग्ल्यान्डको जितमा ह्यारी केनले ३८ र मासोन माउन्टले ६३ औं मिनेटमा गोल गरे । यसै समूहमा भएका अन्य खेलमा हंगेरीले सान मारिनोलाई ३-० गोलले हराउँदा पोल्यान्डले एन्डोरालाई ३-० गोलले हराएको छ ।विश्वविजेता फ्रान्सले भने विश्वकपको युरोपियन छनोटमा दोस्रो खेलमा पहिलो जित निकालेको छ । यसअघि युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको फ्रान्सले आफ्नो दोस्रो खेलमा भने काजकिस्तानलाई २-० गोलले पराजित गरेको हो । यसै समूहमा भएको अर्को खेलमा युक्रेन र फिनल्यान्डले १-१ गोलको बराबरी खेलेका छन् ।

समूह ‘बी’ मा रहेको स्पेनले पनि पहिलो जित निकालेको छ । यसअघि ग्रिससँग १-१ गोलको बराबरी खेलेको स्पेनले जर्जियालाई २-१ गोलअन्तरले पराजित गरेको हो । यसै समूहमा रहेको स्वीडेनले कोसोभोलाई ३-० गोलले पराजित गरेको छ ।

आइतबार राति नै भएका अन्य खेलमा डेनमार्कले मोल्डोभालाई ८-० गोलले हराउँदा अस्ट्रियाले फारोइ आइसल्यान्डलाई ३-१ र इज्रायल र स्कटल्यान्डले १-१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया