नुवाकोटमा केएमसीको तीन स्वास्थ्य शिविर, ८ हजार बिरामी लाभान्वित

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज [केएमसी]ले नुवाकोटका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट आठ हजार बिरामी लाभान्वित भएका छन् ।

नुवाकोटको सूर्यगढी गाउँपालिकामा तीन दिन, तादी गाउँपालिकामा दुई दिन र दुप्चेश्वर गाउँपालिकामा तीन दिन शिविर सञ्चालन गरिएको केएमसीले जनाएको छ ।

तीन पालिकामा सञ्चालित शिविरमा ७ हजार ९ सय ६६ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनकाअनुसार सूर्यगढीमा ३ हजार ४ सय २, तादी गाउँपालिकामा २ हजार ९ सय ४७ र दुप्चेश्वर गाउँपालिकामा १ हजार ६ सय १७ जना बिरामीले शिविरबाट स्वास्थ्य सेवा लिएका छन् ।

तीनवटै शिविरमा गरी १ हजार ५३ जनाको इसीजी, १ हजार ३ सय ५६ जनाको भिडियो एक्सरे र १ हजार ६ सय ४ जनाको ल्याब टेष्ट गरिएको छ । त्यस्तै, शिविरमै ६९ जनाको सामान्य शल्यक्रिया गरिएको छ ।

एक जना हाइड्रोसिल भएका विरामीको जटिल शल्यक्रिया पनि गरिएको छ । त्यस्तैगरी, १ सय ६४ जनाको दाँत फुकालिएको केएमसीले जनाएको छ । शिविरमा अप्रेशन सम्भव नभएका २ सय ५७ जनालाई अस्पतालमा बोलाइएको छ ।

उनीहरुलाई विशेष छुटमा अप्रेशन गरिने बताइएको छ । अब, चैत २० गते काभ्रेको जिरोकिलोमिटर, २३ गते काठमाडौंको मूलपानी र ३० गते काभ्रेपलान्चोकको कुशादेवीमा शिविर सञ्चालन गर्ने तयारी भइरहेको केएमसीले जनाएको छ ।

यसअघि पनि केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । समाजसेवी डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया