देश गलत दिशामा गइरहेको छ : सर्वेक्षण

काठमाडौं । नेपालका बहुसंख्यक नागरिकले अहिले देश गलत दिशामा गइरहेको बताएका छन् । सेयरकास्ट इनिसियटिभ नेपाल नामक अनुसन्धान संस्थाले गरेको सर्भेक्षणअनुसार ४४.३ प्रतिशत नागरिकले देश गलत दिशातर्फ गइरहेको बताएका हुन् ।

यस्तै २१.९ प्रतिशतले देश सही दिशातर्फ गइरहेको बताएका छन् भने २२.५ प्रतिशतले सही र गलत दुवै दिशातिर नगएको मत जाहेर गरेका छन् । त्यस्तै ११.३ प्रतिशतले यसबारेमा केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । सर्वेक्षण ५ हजार ८२ जनामा गरिएको र ८० प्रतिशतभन्दा बढी नगरपालिकाका नागरिकलाई समेटेको सेयरकास्ट इनिसियटिभले जनाएको छ ।

देश गलत दिशामा जानुमा सबैभन्दा ठूलो कारण राजनीतिक दलको खिचातानी र पार्टीबीच भएको अन्तर्विरोध रहेको उनीहरुको मत छ । सर्वेक्षणमा सहभागि ४९.३ प्रतिशतले राजनीतिक पार्टीको विवादका कारण देश गलत दिशामा गएको बताएका छन् भने ३६.८ प्रतिशतले राजनीतिक अस्थिरताले गर्दा देश गलत दिशातर्फ गएको बताएका छन् ।

यस्तै देश गलत दिशामा जानुको कारणमा कमजोर नेतृत्व भन्नेमा २७.४ प्रतिशत, भ्रष्टाचार भन्नेमा २३.४ प्रतिशत, गलत नीति भन्नेमा २०.६ प्रतिशत, सरकारको कमजोर प्रस्तुति भन्नेमा १३.१ प्रतिशत, जनअपेक्षाअनुरुप नेताले काम नगरेको भन्नेमा १२.७ प्रतिशत, नातावाद/कृपावाद भन्नेमा ७.९ प्रतिशत, नागरिक सचेत नभएकाले यो अवस्था आएको हो भन्नेमा ३.५ प्रतिशत, कमजोर न्यायालय भन्नेमा १.६ प्रतिशत, न्यायमा ढिलाइ भन्नेमा १.५ प्रतिशत दण्डहीनता भन्नेमा १.४ र प्रतिशत र अन्यमा ८.४ प्रतिशतले मत जाहेर गरेका छन् ।

यस्तै सरकारले विगत तीन वर्षमा गरेको कामबाट ३२ प्रतिशत सन्तुष्ट देखिएका छन् । ३१ प्रतिशत सन्तुष्ट/असन्तुष्ट दुवै नभएको, २६.५ प्रतिशत मानिस असन्तुष्ट रहेको सर्भेक्षणले देखाएको छ ।

स्थानीय सरकारसँग खुशी केन्द्रीय सरकारसँग असन्तुष्ट
सर्वेक्षणले आमनागरिकमा स्थानीय सरकारको तुलनामा केन्द्रीय सरकारसँग बढी गुनासो र असन्तुष्टि रहेको देखिएको छ ।

सर्भेक्षणमा सहभागी ५०८२ जनामध्ये ५० प्रतिशतले स्थानीय सरकारसँग आफू सन्तुष्ट भएको उत्तर दिएका छन् ।

यस्तै २७.४ प्रतिशतले सन्तुष्टि/असन्तुष्टि दुवै नभएको बताएका छन् भने २१.२ प्रतिशतले मात्र असन्तुष्ट रहेको बताएका छन् ।

दलहरुमध्ये कांग्रेस बढी विश्वासिलो

नेपालमा लोकतन्त्र/गणतन्त्रलाई बलियो बनाउन सबैभन्दा भरपर्दो राजनीतिक दल कुन हो भनी सोधिएको प्रश्नमा ४९.९ प्रतिशतले ‘थाहा छैन’ भन्ने जवाफ दिएका छन् । १३.४ प्रतिशतले भरपर्दो पार्टीमा नेपाली कांग्रेस, ९.६ प्रतिशतले तत्कालीन ओलीपक्षीय नेकपालाई भरपर्दो दल भएको बताएका छन् भने ४.१ प्रतिशतले तत्कालीन माधव-प्रचण्डपक्षीय नेकपा भरपर्दो रहेको बताएका छन् ।

त्यस्तै १.३ प्रतिशतले जनता समाजवादी पार्टीलाई भरपर्दो बताएका छन् भने ०.७ प्रतिशतले राप्रपालाई भरपर्दो दल बताएका छन् । ०.२ प्रतिशतले जनमोर्चा, ०.२ प्रतिशतले नै साझा विवेकशील पार्टी, ८.२ प्रतिशतले अन्य दल भरपर्दो रहेको बताएका छन् । त्यस्तै १२.३ प्रतिशतले भने यस विषयमा जवाफ दिन नचाहेको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार ८६ प्रतिशतले नेपालका राजनीतिक दलका नेताले नेपाली जनतालाई अन्यौलमा/दिग्भ्रमित पारेको बताएका छन् ।

हिन्दू राज्यको पक्षमा धेरै
यस्तै सहभागीमध्ये ५१.७ प्रतिशतले नेपाल हिन्दू राज्य हुनुपर्ने बताएका छन् भने ४०.३ प्रतिशतले धर्म निरपेक्षता नै ठिक भएको बताएका छन् । त्यस्तै ८.१ प्रतिशतले यस विषयमा बोल्न नचाहेको बताएको तथ्यांकले देखाएको छ ।

त्यस्तै लोकतन्त्र नै सबैभन्दा उत्तम शासन प्रणाली हो भन्नेमा ७५.१ प्रतिशत सहमत छन् । १२.१ प्रतिशत यसप्रति असहमत देखिएका छन् । यसैगरी १२.८ प्रतिशतले यस विषयमा जवाफ दिन नचाहेको बताएका छन् ।

के हाम्रो लोकतान्त्रिक व्यवस्थामा संकट आएको हो भन्ने प्रश्नमा ४५.५ प्रतिशतले होइन भन्ने जवाफ दिएका छन् भने ३२.३ प्रतिशतले लोकतान्त्रिक व्यवस्थामा संकट आएको बताएका छन् ।

बेरोजगारी सबैभन्दा ठूलो समस्या
देशका जल्दाबल्दा समस्याहरूमा बेरोजगारीको समस्यालाई सबैभन्दा धेरैले मत दिएका छन् भने गरिबीलाई अर्को कारण मानेका छन् । देशका जल्दाबल्दा समस्याको रुपमा बेरोजगारी मूख्य रहेको ५५.८ प्रतिशतले बताएका छन् भने ३२.३ प्रतिशतले गरिबी र न्यून आय नै अहिलेको जल्दोबल्दो समस्या भएको उल्लेख गरेका छन् ।

त्यस्तै मूल्यवृद्धि, भ्रष्टाचार, राजनीतिक अस्थिरता, समान शिक्षाको कमी, उपचारका लागि स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीको अभाव, सडक अभाव र भइरहेका सडक मर्मत अभाव, असुरक्षा, लैंगिक विभेद/लैंगिक हिंसा/घरेलु हिंसा आदिलाई देशका जल्दाबल्दा समस्याको रुपमा लिएका छन् ।

नेता अविश्वासिला‚ न्याय र पत्रकारिता बढी विश्वसनीय‚ प्रधानमन्त्री ओलीका कुरा नपत्याउने धेरै
धेरै नागरिकले राजनीतिक दलका नेताहरूले गरेका कुरामा विश्वास नगर्ने पाइएको छ । त्यसमध्ये पनि सबैभन्दा धेरै नपत्याउने नेतामध्ये प्रधानमन्त्री केपी शर्मा ओलीलाई अग्रस्थानमा देखिएका छन् ।

उक्त तथ्यांकअनुसार ६०.५ प्रतिशत नागरिकले राजनीतिक दलका नेताले दिएको अभिव्यक्ति नपत्याउने तथ्यांकमा उल्लेख गरिएको छ भने प्रधानमन्त्री ओलीका अभिव्यक्तिलाई मात्रै ४६.९ प्रतिशतले नपत्याउने गरेको उक्त सर्भेक्षणले देखाएको छ । नेताका अभिव्यक्ति पत्याउनेमध्ये ११.३ प्रतिशतले भने प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमाथि विश्वास गर्ने जवाफ दिएका छन् ।

त्यस्तै विश्वास गर्नेको सूचीमा सबैभन्दा अगाडि सञ्चारकर्मी रहेका छन् । अध्ययनले सबैभन्दा धेरै ३२.३ प्रतिशतले आफूलाई पत्रकारको सूचनामा विश्वास लाग्ने बताएका छन् ।

विश्वास नगर्नेमध्ये १३.६ प्रतिशतले पत्रकारको कुरा नपत्याउने जवाफ दिएका छन् ।

त्यस्तै न्यायालयले निष्पक्ष न्याय सम्पादन गर्छ भन्ने कुरामा ४४.१ प्रतिशत मानिस सहमत भएका छन् भने २५.७ प्रतिशत मानिसले न्यायालयले निष्पक्ष न्याय सम्पादन गर्ने पनि र नगर्ने पनि दुवैमा मत प्रकट गरेका छन् । त्यस्तै २१.३ प्रतिशतले न्यायालयको न्याय सम्पादन निष्पक्ष नभएको बताएका छन् भने ३.६ प्रतिशतले यस विषयमा बोल्न नचाहेको बताए ।

त्यस्तै निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष काम गर्छ भन्नेमा ४०.४ प्रतिशत सहमत देखिएका छन् भने २६.९ प्रतिशतले गर्ने पनि नगर्ने पनि भन्ने जवाफ दिएका छन् । यस्तै १९ प्रतिशतले स्वतन्त्र र निष्पक्ष नभएको बताएका छन् भने १३.७ प्रतिशतले यस विषयमा आफू जानकार नभएको जवाफ दिएका थिए ।

अध्ययनले अधिकांश व्यक्तिले नेपाली राजनीतिमा चासो नराख्ने देखाएको छ ।

६३ प्रतिशतले नेपाली राजनीतिमा चासो नभएको बताएका छन् भने ३५.६ प्रतिशतले राजनीतिमा चासो राख्ने गरेको देखाइएको छ । त्यस्तै १.४ प्रतिशतले भने यस विषयमा बोल्न नचाहेको अध्ययनले देखाएको छ ।

रेडियोलाई विश्वास गर्ने धेरै
सहभागीमध्ये अधिकांश ६२.४ प्रतिशतले रेडियोबाट आएको सूचना र समाचार विश्वसनीय लाग्ने बताएका छन् भने ५५.६ प्रतिशतले टेलिभिजनमा आउने सूचना तथा समाचार विश्वसनीय लाग्ने उल्लेख गरे ।

त्यस्तै ११.६ प्रतिशतले पत्रिकामा आउने सूचना तथा समाचार विश्वसनीय लाग्ने बताए भने ८.८ प्रतिशतले अनलाइन समाचारहरू विश्वसनीय भएको बताए ।

प्रतिक्रिया