शुक्रबार काठमाडौंको वायुमण्डल विश्वकै प्रदुषित

काठमाडौं । काठमाडौं उपत्यकाको वायुमण्डलमा शुक्रबार अपरान्हपछि बाक्लो तुँवालो छाएको छ । धुँवाका कारण पिरो भएर आँखा र नाक पोलेको अनुभव उपत्यकावासीले गरिरहेका छन् । दिउँसो २ बजेदेखि भिजिबिलिटी कमजोर (१००० मिटरभन्दा कम) भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने जहाजको उडान–तथा अवतरणसमेत अवरुद्ध भएका थिए । साँझ ६ बजेसम्मका लागि उडान–अवतरण स्थगित गरिएको भए पनि वायुमण्डलमा केही सुधार आएकाले उडान सुचारु हुन थालेका छन् ।

उपत्यकाको वायुमण्डलमा हुस्सुु लागेजस्तो बाक्लो तुँवालो देखिनुको कारणबारे वरिष्ठ मौसमविद् राजु प्रधानाङ्ग भन्छन्, ‘लामो समयदेखि पानी परेको छैन‚ यसले गर्दा वायुमण्डलमा धुलोको कण बाक्लिएको छ । त्यसमाथि हाल पर्सा, मकवानपुर र चितवनका वनमा लागेका ठूला डढेलोबाट उत्सर्जन भएको धुँवा पनि वायुमण्डलमा मिसिएको छ । हामीलाई ३ ठाउँका वनमा लागेको डढेलोको खबर प्राप्त भए पनि हाल देशैभरका वन जंगलमा डढेलो लागेको अनुमान गरिएको छ । यसले गर्दा वायुमण्डलमा धुँवा र धुलो मिसिएर भिजिबिलिटी कमजोर भएको हो ।’

No description available.

उनका अनुसार चैत-वैशाखको यो मौसममा हावाको गतिसँगै भारतबाट पनि धुलो र धुवा वायुमण्डलमा मिसिँदै नेपालमा भित्रिने गरेको छ ।

वायु प्रदुषण मापन गर्ने स्वीटजरल्याण्डको संस्था आइक्यू एयरको वायु गुणस्तर सूचक (एयर क्वालिटी इन्डेक्स)का अनुसार शुक्रबार दिउँसो काठमाडौं उपत्यकाको वायु गुणस्तर विश्वकै सबैभन्दा कमजोर देखिएको छ । शुक्रबार काठमाडौं उपत्यकामा वायुको गुणस्तर २९४ आइक्यू छ । जबकी, ५० आइक्यूभन्दा तलको वायुलाई मात्रै कम प्रदुषित वायु मानिन्छ ।

शुक्रबार काठमाडौंपछि सबैभन्दा प्रदुषित वायुमण्डल भएका ९ सहरमा बेइजिङ, मुम्बई, ढाका, सेन्याङ(चीन), इन्चोन(दक्षिण कोरिया), वार्सा(पोल्याण्ड), उहान(चीन), क्रोको(पोल्यान्ड) र बुल्गेरियाको सोफिया रहेका छन् ।

 

प्रतिक्रिया