तीन वर्षमा दुईपटक मन्त्रीमण्डल विस्तार, यस्तो थियो भित्री खेल

  • सुमन सुस्केरा

विराटनगर । प्रदेश १ सरकारले दोश्रो पटक मन्त्रीमण्डल विस्तार गरेको छ । २०७४ फागुन ३ गतेपछि दोश्रो पटक मन्त्रीमण्डल विस्तार गरेको हो । यसअघि गत वर्ष ४ जना राज्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

गतवर्ष राज्यमन्त्रीमा नियुक्त भएका २ जना मन्त्री भएका छन् भने यसअघि नै दुईजना मन्त्रीले राजीनामा दिइसकेका छन् ।

पहिलो पटक प्रदेशको मन्त्रीमण्डल गठन हुँदा मुख्यमन्त्री शेरधन राईसहित अन्तरिम मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीश कुसियैत मन्त्रीको रुपमा आएका थिए ।

त्यसपछि मन्त्रीपरिषद् विस्तार हुन सकेको थिएन । २०७६ माघ ५ गते मन्त्री परिषद् विस्तार गरी मुख्यमन्त्री राईले ३ जना राज्यमन्त्री थप गरेका थिए । राज्यमन्त्रीमा भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा अम्बिरबाबु गुरुङ, सामाजिक विकास राज्यमन्त्रीमा जसमाया गजमेर, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा राम रानामगर, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा विजयकुमार विश्वासलाई नियुक्त गरिएको थियो ।

राजनीतिक समीकरण बिग्रँदै जाँदा गत पुस ११ गते मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा कानुनमन्त्री ईन्द्रबहादुर आङ्बोलाई आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व लिएको भन्दै बर्खास्त गरेका थिए ।

लगत्तै पुस १२ गते अविश्वासको प्रस्ताव ल्याउने दिन बिहान थप ३ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए । नेपाल समूहबाट मन्त्री भएका सामाजिक विकासमन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेर तथा माओवादीबाट मन्त्री भएका विजय विश्वास पदबाट राजीनामा दिएर अविश्वासको प्रस्तावमा समर्थन गर्न गएका थिए ।

गतवर्ष राज्यमन्त्री भएका भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ मन्त्री भएका छन् । त्यस्तै दोश्रो पटकको मन्त्रीमण्डल विस्तारको क्रममा नयाँ अनुहारसमेत आएका छन् ।

आएका नयाँ अनुहारमा यसअघि मन्त्रीबाट राजीनामा दिएका जीवन घिमिरेको ठाउँमा खोटाङकी उषाकला राई सामाजिक विकास मन्त्री भएकी छन् भने आङ्बोलाई बर्खास्ती गरिएको ठाउँमा माओवादी केन्द्रका संसदीय दलका नेता टंक आङ्बुहाङलाई मन्त्री पदमा ल्याइएको छ ।

अन्य राज्यमन्त्रीहरूमा दुई जनालाई ल्याइएको छ । उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री मोरङकै राजकुमार ओझा र उदयपुरकी कला घले भूमी व्यवस्था‚ कृषि तथा सहकारी मन्त्रालयमा राज्यमन्त्रीको रुपमा नियुक्त भएकी छन् ।

नियुक्त भएर आएका नयाँ अनुहारमध्ये सामाजिक विकासमन्त्री उषाकला राई र कला घले मुख्यमन्त्री राईका विरुद्ध अविश्वासको प्रस्तावमा समर्थन जनाएर अविश्वासको प्रस्ताव फिर्ता लिनेमध्येका हुन् ।

सरकारले दोश्रो पटक सामाजिक विकास, भौतिक पूर्वाधार, आन्तरिक मामिला र आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री नियुक्त गरेको भएपनि राज्यमन्त्री नियुक्त हुन भने अझै बाँकी छ ।

प्रतिक्रिया